एक महिनामा आगलागीबाट ११ जनाको मृत्यु, ६७ जना घाइते

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्यांक विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिए। घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् ।

आगलागीका घटनामा बढोत्तरी भएसँगै ठुलो भौतिक तथा मानवीय क्षति हुने गरेको उनले बताए । नागरिक सचेत भए पनि धेरै घटना रोक्न सकिने जनाइएको छ । प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपायासमेत मरेका छन् । 

ती आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजारभन्दा बढीको आर्थिक क्षति पनि भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आगलागीबाट ११० परिवार विस्थापित नै भएका छन् । एक महिनामै ६३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    कुन प्रदेशमा कति आगलागीका घटना ?

प्रहरीका अनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएका छन् । उक्त प्रदेशमा १४३ वटा आगलागीका घटना भएका छन्। त्यसपछि १३६ वटा आगलागीका घटना कोशी प्रदेशमा भएका छन् । यसैगरी, १०४ वटा आगलागीका घटना मधेश प्रदेशमा भएको पनि प्रवक्ता थापाले बताए ।

 यसैगरी, बागमतीमा ६४, काठमाडौं उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ । धेरै आगलागीका घटना मानवीय कारणले हुने गरेको आगलागीसँग सम्बन्धित विज्ञहरूले बताउँदै आएका छन् ।

See More On

सुझावित समाचार