अछाममा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियान सुरु हुने भएको छ । जिल्ला बाल सञ्जालको सोमबार बसेको बैठकले बालश्रम, यौन दुर्व्यवहार र बालविवाहका कारण हुने हिंसाविरुद्ध अभियानकै रूपमा लाग्ने निर्णय गरेको हो ।
अभियानले बालहिंसाविरुद्ध सचेतना, पीडितको सशक्तीकरण, दोषीमाथि कारबाहीलगायतका प्रक्रियामा सहयोग गर्नेछ । जिल्ला बाल सञ्जाल अछामका अध्यक्ष मनीषा साउदको अध्यक्षतामा सम्पन्न बैठकले बालहिंसाविरुद्धका गतिविधि सञ्चालनका लागि जिल्लाका १० वटै स्थानीय तहसँगको समन्वयमा वडातहमै पुगेर सचेतीकरण गराउने तथा यसबारे अन्य सम्बन्धित संघसंस्थासँग पनि साझेदारी गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला बाल सञ्जालका संरक्षक तथा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले बालबालिकामाथि भइरहेका विभिन्न खालका हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारहरूले खासै चासो नदिएकाले बाल सञ्जालले सक्रिय भएर दबाब दिनुपर्ने बताए । यदि सञ्जालले दबाबमूलक गतिविधि गरे सबैखाले हिंसा अन्त्य हुने भन्दै उनले त्यसका लागि व्यवस्थित रूपमा अभियान सञ्चालन गर्न सुझाव दिए ।
जिल्लामा १२ वर्षकै उमेरकी बालिका आमा बनेको तथा यौन दुर्व्यवहार र बालश्रमिकसमेत रहेको तथ्यांक छ । यस्ता समस्या सुधारका लागि सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले त्यसका लागि सामाजिक विकास कार्यालयले समेत बाल सञ्जालको अभियानमा साथ दिने प्रतिबद्धता जनाए । आगामी आर्थिक वर्षदेखि यस्ता गतिविधिका लागि बजेटसमेत व्यवस्थापन गरिने रावलले बताए । बालहिंसासँगै लागुऔषध दुर्व्यसनीविरुद्ध पनि गतिविधि सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।
वर्ल्डभिजनका जिल्ला कार्यक्रम प्रमुख मीनबहादुर थापाले बाल विकास, बाल समृद्धि र बाल सरोकारमा सुधार नहुनुको मुख्य कारण नै बालहिंसा भएकाले यसको सुधारमा गम्भीर बन्नुपर्ने भन्दै त्यसका लागि बाल सञ्जाललाई स्थानीय तह र वडास्तरमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए । बालबालिकाको क्षमता विकास अपरिहार्य रहेको भन्दै उनले पहिला सञ्जालमा आबद्ध पदाधिकारीहरूले आफूलाई अब्बल बनाउनुपर्ने उल्लेख गरे ।
सञ्जालका अध्यक्ष साउदले बालबालिकामाथि हुने हिंसाको शृंखलाबद्ध चक्रलाई तोड्नु अभियानको प्रमुख लक्ष्य हुने बताइन् । तर, स्थानीय तह र अन्य सम्बन्धित निकायले समेत चासो राख्नुपर्ने उनले बताइन् । महासचिव लोचन कुँवरले बालबालिकामाथि हुने जुनसुकै हिंंसाविरुद्ध समाजका हरेक व्यक्तिलाई आक्रोश र विरोध व्यक्त गर्न आह्वान गरेका छन् । उनले हरेक स्थानीय तहले यस्ता समस्याविरुद्ध लाग्न विशेष बजेट व्यवस्थापन गर्नुपर्ने मागसमेत गरे ।
बैठकमा आस्था नेपालका मनोविमर्शकर्ता गोकुल खड्का र वाक नेपालका रमेश रावल तथा सञ्जालका वरिष्ठ उपाध्यक्ष रिता ढकाल, उपाध्यक्ष खेमराज धमला र सचिव रोहित शर्मालगायतले हिंसाविरुद्धको अभियानबारे छलफलमा भाग लिएका थिए । सञ्जालले जिल्ला समन्वय समिति अछामको भवनमा कार्यालय स्थापना गर्ने निर्णयसमेत गरेको छ ।