एएफसी एसियन कप छनोट : छनोट र मैत्रीपूर्णका लागि अन्तिम तयारीमा जुट्दै नेपाल

दैनिक दुईपटक दशरथ रंगशालामा खेलाडीलाई प्रशिक्षण गराउँदै मुख्य प्रशिक्षक म्याट रोस

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली अहिले एएफसी एसियन च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि तयारीमा जुटिरहेको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले लाओससँग १० जुनमा प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलियन म्याट रोसको मुख्य प्रशिक्षणमा खेलाडीले दशरथ रंगशालामा प्रशिक्षण गरिरहेका छन् । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको थियो । अब दोस्रो छनोट खेलमा फिफा वरीयतामा आफूभन्दा तल रहेको लाओसविरुद्ध जित निकाल्ने उद्देश्यका साथ प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ । 

मुख्य प्रशिक्षक रोसले पनि अवे खेलमा लाओसविरुद्ध जित निकाल्ने योजनाका साथ रणनीति बनाएका छन् । एसियन च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा गर्नुअघि खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र अनुभव बटुल्नका लागि एन्फाले हङकङविरुद्ध मैत्रीपूर्ण खेलको प्रबन्ध मिलाएको छ । नेपालले आधिकारिक रूपमा हङकङको राष्ट्रिय फुटबल टोलीविरुद्ध ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । तथ्यांकअनुसार नेपाल र हङकङबिच एकपटक मात्र खेल भएको छ । सन् १९८८ को एसिया कपमा यी दुई टोलीबिचको अन्तर्राष्ट्रिय खेल गोलरहित बराबरीमा सकिएको थियो । 

लाओससँग अपराजित नेपाल
एसियन च्याम्पियनसिपको प्रतिद्वन्द्वी लाओसविरुद्ध नेपालले अहिलेसम्म ६ पटक प्रतिस्पर्धा गरिसकेको छ । तथ्यांकअनुसार नेपालले लाओसविरुद्धको खेल गुमाएको छैन । नेपालले लाओसमाथि तीनपटक जित निकालेको छ । लाओसले नेपाललाई तीनपटक बराबरीमा रोकेको छ । सन् २०१६ को मेमा यी दुई टोलीबिच पहिलोपटक अन्तर्राष्ट्रिय खेल भएको थियो । जसमा १–१ को बराबरी नतिजा निस्कियो । सोही वर्ष एएफसी सोलिडारिटी कपमा नेपाललाई लाओसले २–२ को बरबरीमा रोक्यो । दुई वर्ष भएको अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसमाथि क्रमशः २–० र २–१ ले जित निकालेको थियो । फिफा वरीयतमा लाओस १९०औँ स्थानमा छ । नेपालको तुलनामा लाओस १५ स्थान तल रहेको छ । 

वरीयतामा हङकङ २२ स्थान माथि
एसिया कपपछि नेपाल र हङकङबिच खेल भएको छैन । पछिल्लो फिफा वरीयतामा हङकङ १५३ र नेपाल १७५औँ स्थानमा रहेका छन् । नेपालको तुलनामा हङकङ २२ स्थान माथि रहेको छ । आफूभन्दा माथिल्लो स्तरसँगको विपक्षीविरुद्ध प्रतिस्पर्धा गर्दा खेलाडीले एक्सपोजर प्राप्त गर्ने एन्फाको भनाइ छ । साढे तीन दशकपछि हङकङविरुद्धको मैत्रीपूर्ण र लाओससँग खेलमा राम्रो नतिजा निकाल्न खेलाडीले अहिले दैनिक दुईपटक दशरथ रंगशालामा प्रशिक्षण गरिरहेका छन् । उनीहरूले दैनिक बिहान र बेलुका प्रशिक्षण गरिरहेको एन्फाले जनाएको छ । 

‘अहिले खेलाडीहरूले दैनिक बिहान र बेलुका प्रशिक्षण गरिरहेका छन्,’ एन्फाले भन्यो, ‘हामी मैत्रीपूर्ण र अवे खेलमा लाओसविरुद्ध जित निकाल्ने उद्देश्यका साथ तयारीमा छौँ ।’ हङकङ र नेपालबिचको खेल फिफा डेमा रहेको छ । यस खेलमा जस्तो नतिजा आए पनि वरीयता अंक दुवै टोलीले प्राप्त गर्नेछन् । जितले नेपालले फिफा वरीयतामा केही स्थान सुधार गर्न सक्छ । 

मनोबल वृद्धिको रणनीति
एन्फाले मैत्रीपूर्ण र छनोट खेलअघि खेलाडीको मनोबल वृद्धि गर्ने लक्ष्य राखेको छ । यी दुई पक्षमा केन्द्रित रहेर खेलाडीलाई मुख्य प्रशिक्षक रोसले प्रशिक्षण गराइरहेका छन् । अहिले क्लोज क्याम्पमा २५ जना खेलाडी छन् । क्लोज क्याम्पपछि नेपाली टोलीको घोषणा हुनेछ । छनोट खेलका लागि अन्तिम चरण तयारीमा रहेका खेलाडीले फ्रेसनेस प्रशिक्षण पाएका छन् । एसियन छनोटको समूह ‘एफ’को पहिलो खेलमा नेपाल मलेसियासँग १–० ले पराजित भएको थियो । नेपालले अहिलेसम्म एसियन कपमा स्थान बनाएको छैन । एसियन फुटबल महासंघ (एएफसी)ले यसपटक छनोट खेलमा सहभागी राष्ट्रहरूलाई ६ समूहमा विभाजन गरेको छ । 

सुझावित समाचार