सर्लाहीमा मध्यराति प्रहरीको अपरेसनः भारतीय गाडीबाट ११२ केजी गाँजा बरामद

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

भारतीय नम्बरप्लेटको गाडीमा राखेर तस्करी गर्न लागिएको एक सय १२ केजी गाँजा प्रहरीले सर्लाहीमा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय, लालबन्दीले सोमबार मध्यराति अपरेसन चलाएर गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको हो। 

इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारीको कमान्डमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका वडा नम्बर १४ डाइनेखोलाबाट बिआर ३२ एन ०८१७ नम्बरको स्कोरपियो गाडीमा राखेर तस्करी गर्न लागिएको गाँजा बरामद गरेको हो। सो गाँजा तस्करी गर्न खोज्ने स्थानीय सोमबहादुर तामाङलाई पनि पक्राउ गरिएको इन्स्पेक्टर जोहारीले बताए। गाडीको डिकीमा लुकाएर गाँजा भारत तस्करीको प्रयास भएको थियो। 

प्रहरीलाई देखेलगत्तै गाडी छाडेर भाग्न खोज्ने क्रममा उनी पक्राउ परेका हुन्। तस्करीमा प्रयोग भएको एक मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। गिरोहमा आबद्ध थप व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
 

सुझावित समाचार