जुम्लामा मार्सी धान रोपाइँ सुरु

मंगलबार, ६ जेठ, २०८२
डिजिटल संस्करण

जिल्लाको पातारासी गाउँपालिका– ३, छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सी धान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो ।

कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न भएको कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए । स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सी धानको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि रोपाइँ महोत्सव तथा धान दिवस मनाइएको उनले जानकारी दिए ।

यहाँ विगतका वर्षदेखि धान रोपाइँ भइरहेको पातारासी– ३ का वडाध्यक्ष गोविन्द रावतले बताए । संघीय सरकारको सहयोगमा धान संरक्षण गर्ने उद्देश्यले छुमचौर जिउलो आधा क्षेत्र घेराबारा गरिएको जनाउँदै पूरै क्षेत्र घेराबारा भए काली मार्सी धानको खेती बढ्ने बताए ।

विश्वको अग्लो ठाउँमा फल्ने धान यहाँ उत्पादन हुने भन्दै यसको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उल्लेख गरिन् । समुद्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा पर्ने छुमचौरमा धानखेती भएपछि जिल्लामा विभिन्न कार्यक्रम गरी रोपाइँ सुरु भएको हो ।

सिँजा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषक, स्थानीय सरकारलगायत सरोकार भएका निकाय यसको संरक्षण र प्रवर्द्धनमा लागेकाे उपाध्यक्ष रोकायाले बताइन् । जिल्लामा दुई हजार आठ सय हेक्टरमा धानखेती हुने कृषि विकास कार्यालयले जनाएको छ ।

सुझावित समाचार