अनुशासित नागरिक उत्पादन गर्न राज्यले खेल क्षेत्रमा जोड दिनुपर्छ : वर्षमान

आइतबार, ५ जेठ, २०८२
डिजिटल संस्करण

पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले खेलाडीहरू अनुशासित र मर्यादित नागरिक भएको बताएका छन् । 

११औँ संस्करणको सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको शनिबार उद्घाटन गर्दै पुनले अनुशासित नागरिक उत्पादनका लागि राज्यले खेल क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। 

स्वच्छ नागरिक उत्पादनका लागि खेलकुद महत्त्वपूर्ण, अनिवार्य र जरुरी रहेको उनको भनाइ थियो । खेलाडी भविष्यका राष्ट्रनिर्माता र अनुशासित नागरिक भएको पुनले बताए । 

 नेपाल, भारत, बंगलादेश र कतारका खेलाडी सहभागी प्रतियोगिता मित्रराष्ट्रहरिबीच भाइचारा सम्बन्ध थप विस्तार गर्न फलदायी योगदान पुग्ने उनले बताए । मित्रराष्ट्रहरूबिच हुने खेलले सदभावना अभिवृद्धिका लागि ती देशका नागरिकहरूको बिचमा पुलको काम गर्ने उनको भनाइ छ। 

नेपाल सितोरियो कराँते शाखा डोजो नक्सालको आयोजनामा ललितपुरको सातदोबाटो कराँते एकेडेमीमा सुरु प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र कतारका गरी ५५५ खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ । चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर समूहमा कुल ५८ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष गजेन्द्रबहादुर खपांगीले जानकारी दिए । शनिबार १५ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा नेपालले आठ, भारतले ६ र बंगलादेशले एक स्वर्ण जितेको छ ।  

सुझावित समाचार