पूर्वस्वास्थ्यसचिव डा. सुशीलनाथ प्याकुरेललाई ३ प्रश्न

आइतबार, ५ जेठ, २०८२
डिजिटल संस्करण

हामीकहाँ कतिपय ल्याब परीक्षण गर्न भारतकै भर पर्नुपर्ने अवस्था किन छ ?
अहिले त धेरैजसो परीक्षण नेपालमै हुन थालेका छन् । बढी नै सेन्सेटिभ र विशेष प्रकृतिका केही परीक्षणका लागि नमुना भारत पठाउनुपरे पनि बाँकी परीक्षण यहाँका ठुला सरकारी अस्पताल र केही स्तरीय निजी ल्याबमै हुन थालेको छ । कतिपय निजी ल्याबको रिपोर्ट विश्वासिलो नहुने भएकाले पनि भारत जाने क्रम देखिएको होला । बिरामीमा पनि थोरै बढी खर्च भए पनि भारत गएरै परीक्षण गराऊँ र ढुक्क होऊँ भन्ने मानसिकताले काम गरेको हुन सक्छ । फेरि जता पनि बिचौलिया त हुने नै भए । त्यसैले, कतिपयले उताका ल्याबसित सम्पर्क गरेर यताबाट आफूले पठाएका बिरामी या तिनका नमुनाअनुसार कमिसन खानकै लागि पनि त्यसरी पठाइरहेका हुन सक्छन् । अन्यथा, अत्यन्त सीमित रोगको परीक्षणका लागि बाहेक भारत जानैपर्ने अवस्था अहिले छैन । 

यस्तो अवस्थाले बिरामीमा आर्थिक भार थपिन्न र ?
यहाँ परीक्षण हुन नसकेर भारत जानुपर्दा या उता परीक्षणका लागि नमुना पठाउनुपर्दा खर्चिलो त हुने नै भयो । तर, सबै बिरामीलाई सबै प्रकारका परीक्षण गर्नुपर्दैन । अहिले यहाँ बिमा सुविधा लागू भएपछि खासै आवश्यक नपर्ने परीक्षण पनि गरिहालौँ न त भन्ने प्रवृत्ति बढी देखिन थालेको छ । त्यसैले, परीक्षण गराउने क्रम बढेकाले त्यस्तो देखिएको हो । यहाँ ल्याबको अभावमा भारत जान बाध्य हुनुपर्यो भने त्यसले सम्बन्धित बिरामीलाई आर्थिक भार पक्कै थपिन्छ । 

स्वदेशमै त्यस्ता परीक्षण गर्न मिल्ने ल्याब तयार गर्न सकिन्न ?
अत्याधुनिक सुविधायुक्त ल्याब तयार गर्न आवश्यक मेसिन निकै महँगा छन् । मेसिनसँगै त्यसका लागि त्यसैअनुसार जनशक्ति पनि आवश्यक पर्छ । यो सबैको व्यवस्थापन हुन सकेमा ल्याब तयार गर्न नसक्ने भन्ने हुँदैन । 

सुझावित समाचार