साढे दुई करोडभन्दा बढी खर्चेर बनेको बिपी राजमार्गको डाइभर्सन बर्खा नलाग्दै बग्यो

१५ घण्टापछि खुल्यो अवरुद्ध बिपी राजमार्ग

मंगलबार, ३० बैशाख, २०८२
डिजिटल संस्करण

साढे दुई करोडभन्दा बढी खर्चेर निर्माण गरेको बिपी राजमार्गको डाइभर्सन बर्खा नलाग्दै बगाएको छ । गत १०, ११ र १२ असोजको अबिरल वर्षापछिको बाढीले बिपी राजमार्गको १४ स्थानमा करिब आठ किलोमिटर सडक बगाएको थियो । बगाएको स्थानमा सडक डिभिजन कार्यालय भक्तपुरले डाइभर्सन निर्माण गरेको थियो ।

बर्खामा समेत नियमित यातायात सञ्चालन गर्ने उद्देश्यले निर्माण भएका डाइभर्सन बर्खा लाग्नुअघि (सोमबार) अगावै आएको सामान्य बाढीले तीन ठाउँमा बगाएको छ। साथै, धेरै ठाउँको डाइभर्सन आधा बगाएकोले सिंगल लेन भएको छ । सोमबारको वर्षापछि आएको रोशी खोलाको बाढीले डाइभर्सन बगाएको हो ।

बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ माम्ती र बर्खेखोलाको दुई स्थान र रोशी–९, बोक्सीकुण्डमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएको छ । यस्तै, रोशी–७, कटुन्जेलगायतको स्थानमा आधा सडक बगाएर एक लेन बनाएको छ । 

१५ घण्टापछि खुल्यो बिपी राजमार्ग
सोमबार आएको बाढीबाट अवरुद्ध बनेको बिपी राजमार्ग १५ घण्टापछि सञ्चालनमा आएको छ। सोमबार राति ९ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिउँसो साढे १ बजेबाट सञ्चालनमा आएको हो। काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा जाने सवारीसाधानलाई काभ्रेपलाञ्चोकको भकुन्डेमा र पूर्वबाट काठमाडौंतर्फ आउने सवारीसाधनलाई सिन्धुलीमा होल्ड गरिएको थियो।

बाढीले अवरुद्ध राजमार्ग सञ्चालन भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । बिपी राजमार्गको तीन ठाउँमा डाइभर्सन बगाएकोमा सडक विभाग, नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधिहरू र स्थानीयको पहलमा सडक सञ्चालन भएको लामाले बताए । 

असोजको बाढीले राजमार्गको १४ ठाउँमा बगाएपछि डाइभर्सन बनाइएको थियो । उक्त डाइभर्सन १३ ठाउँमा स्तरोन्नति गरिसकेको र एक ठाउँमा स्तरोन्नति गर्न बाँकी थियो । फिल्डमै भेटिएका सडक विभागका डिजी रामहरि पोखरेलले बाढीले बगाएको सडक खुलाएको बताए । 

सुझावित समाचार