नारायण खतिवडाको गीत ‘स्वार्थी संसार’ सार्वजनिक

मंगलबार, ३० बैशाख, २०८२
डिजिटल संस्करण

गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरूपराज आचार्यको स्वर रहेको छ। लामो समयको अन्तरालमा वरिष्ठ संगीतकार लक्ष्मण शेष यस गीतमार्फत पुनरागमन गरेका हुन्।

गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट यूट्युबमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो। 

वास्तविक घटनामा आधारित एवं बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना व्यहोरेको भाव र सन्देश यस गीतमा रहेको छ। मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने, तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछि कुल्चेर हिँड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ। 

गीतकार खतिवडाका यसभन्दा पहिला पनि दर्जनौँ गीत बजारमा आइसकेका छन्। सम्झनाका पाइलाहरू नामक गीतिसंग्रहमा एक सय नौवटा गीत समावेश छन् भने स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पुर्याइदेउ, मेरो कथा, चोखो चोखोलगायतका दर्जनौँ गीत बजारमा रहेका छन्। गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा सरकारी सेवामा छन्। सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घटना, प्रेम, वियोग तथा राष्ट्र र राष्ट्रियताका पक्षलाई कलात्मक, रचनात्मक तथा सन्देशमूलक भावसहित साहित्यमा उतार्ने गीतकार खतिवडाको पछिल्लो सिर्जना पनि सामाजिक सन्देश बोकेर आएको छ। 

सुझावित समाचार