वर्षाले सडक भासिएपछि कोदारी राजमार्ग एक साता बन्द

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण
  • एक्कासि अन्तर्राष्ट्रिय नाका बन्द गरेकामा व्यवसायीले जनाए असन्तुष्टि, केरुङतर्फ सडक बन्दै गरेकाले तातोपानी क्षेत्रमा सामान आयातको चाप बढ्यो

हालैको वर्षाले कोदारी राजमार्गस्थित कोप्लाङमा सडक भासिएपछि चीनको खासाबाट तातोपानी आएका मालवाहक कन्टेनर एक सातादेखि लिपिङमै रोकिएका छन् । स्याउ र लसुन बोकेका ३० वटा कन्टेनर र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन लिपिङ क्षेत्रमा अलपत्र परेका हुन् । सयभन्दा बढी कन्टेनर खासामा छन् । रसुवागढी नाकाअन्तर्गत केरुङको चिनियाँ क्षेत्रमा आगामी अक्टोबरमा मात्रै सडक निर्माण सम्पन्न हुने भएकाले सामान आयातको चाप तातोपानी क्षेत्रमा परेको हो ।
२८ वैशाख (आइतबार) देखि ३ जेठसम्म कोदारी राजमार्ग तातोपानी क्षेत्र बन्द गर्ने निर्णय भएको छ । ठेकेदार कम्पनीको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, तातोपानी भन्सार, भोटेकोशी गाउँपालिका र ट्रान्सपोर्ट कम्पनीहरूको शुक्रबार बसेको बैठकले एक साता सडक बन्द गरेर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । 

सडक डिभिजन कार्यालय चरिकोटको प्रत्यक्ष निगरानीमा भासिएको सडकमुनि भोटेकोशी नदीबाट प्लम ढलानको काम भइरहेको छ । शिव खिम्ती र टिपिएस जेभिले भासिएको सडक निर्माण गर्ने ठेक्का पाएका छन् । साँघुरो सडक र वर्षा हुनासाथ बग्ने जमिन र ५० मिटर तल भोटेकोशी नदी किनारबाट प्लम ढलान उठाउनुपर्ने भएकाले निर्माण सम्पन्न गर्न अझै समय लाग्ने ठेकेदार कम्पनीले जनाएको छ । भासिएको जोखिमपूर्ण सडकमा ठुला कन्टेनर पास भइरहने र निर्माण पनि भइरहने अवस्था रहँदा दुर्घटना हुने भएकाले सडक बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । 

गत साता भासिएको सडक प्रयोग गर्दा विद्युतीय सवारी भोटेकोशी नदीमा खसेको थियो । स्याउ, लसुन, निर्माण सामग्री बोकेका कन्टेनर र भन्सार जाँचपासका लागि क्युमा रहेका विद्युतीय सवारीसाधनको लाइन कोप्लाङदेखि मितेरीपुलसम्म यत्रतत्र अलपत्र छन् । 

पर्स्यौली वीरगन्ज १५२ केभीको ट्रान्समिसन लाइनका लागि चीनबाट ल्याइएको पाँच लाख २६ हजार डलर बराबरको सामान १५ दिनदेखि सीमाक्षेत्रमा रोकिएको ट्रान्सपोर्ट प्रतिनिधि कर्म शेर्पाले जानकारी दिए । त्यसैगरी, सिनो हाइड्रोका पाँच कन्टेनर निर्माण सामग्री पनि १० दिनदेखि सीमामा रोकिएका छन् । पूर्वजानकारीविना र धरातलीय यथार्थ धनहेरी एकाएक अन्तर्राष्ट्रिय राजमार्ग बन्द भएकोमा व्यापारी तथा व्यवसायी असन्तुष्ट बनेका छन् । 

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाले सडकको दूरावस्था र सरकारी निकायको लापरबाहीले व्यापारी व्यवसायी मर्कामा परेको बताए । व्यापारीले निजी रकम खर्चेर वैकल्पिक सडक बनाउँछौँ भन्दा पनि सडक डिभिजनले नमानेको उनको गुनासो छ । सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले वैकल्पिक सडक बनाउने ठाउँ नभएको र भासिएको सडकबाट सवारीसाधन ओहोरदोहोर गर्दा मानवीय तथा भौतिक क्षति हुने देखेर एक साताका लागि बाटो बन्द गर्न लागेको बताए । 

सुझावित समाचार