किटमा प्रिसा मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको ‘रुलिङ’

सोमबार, २२ बैशाख, २०८२
डिजिटल संस्करण

भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारे सरकारलाई सत्यतथ्य पत्ता लगाउन सभामुखले ‘रुलिङ’ गरेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् । उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन दिएका हुन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा साहको रहस्यमय मृत्यु भएको थियो ।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे माननीयज्यूहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुखले रुलिङ गर्दै भने, ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’

उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न सरकारलाई अपिल गरे ।
 

सुझावित समाचार