खलंगामा फेरि भारतको बलमिच्याइँ : नेपाली भूमिमै तटबन्ध उठाउँदै

तीन वर्षअघि नै थालेको थियो निर्माण, दुवै देशका प्राविधिक टिमको स्थलगत भ्रमणपछि रोकिएको थियो

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

महाकालीबाट जोखिममा रहेको दार्चुला सदरमुकाम खलंगामा फेरि भारतले बलमिच्याइँ गरेको छ । ०७० को बाढीमा महाकालीले धार परिवर्तन गरेपछि खलंगास्थित वीरेन्द्र वनको पारिपट्टि पुगेको नेपाली भूमिमै भारतले एक महिनादेखि तटबन्ध निर्माण थालेको हो । 

महाकाली नगरपालिका– ४ र ५ मा पर्ने यो भूभागमा झन्डै तीन सय मिटर लम्बाइको सात मिटर अग्लो तटबन्ध निर्माणका लागि हाल आधा दर्जन एक्स्काभेटर लगाएर नदी क्षेत्र खोतलिँदै छ । उक्त क्षेत्रनजिक भारतीय सेनाको ब्यारेक छ । निर्माण भइरहेको तटबन्धका कारण बाढी आउँदा महाकालीले नेपालतिर धार परिवर्तन गरेर ठुलो क्षति निम्त्याउने जोखिम बढेको छ । 

जिल्ला प्रशासनबाट पटक–पटक गरिएको आग्रहलाई अटेर गरेपछि कूटनीतिक पहलका लागि गृह मन्त्रालयबाट परराष्ट्रमा पत्राचार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिल पौडेलले बताए । ‘तटबन्ध निर्माण र यहाँको वस्तुस्थितिबारे गृहमा रिपोर्टिङ गरेका छौँ,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल भइरहेको भन्ने जानकारी आएको छ ।’ 

गुगल म्यापमा लगाइएको रातो रेखा नेपाल–भारत सीमा हो । ०७० को बाढीमा महाकालीले धार परिवर्तन गरेपछि नेपालको केही भूभाग खलंगास्थित वीरेन्द्र वनको पारिपट्टि पुगेको छ । गुगल म्यापमा रातो घेरा लगाइएको भूभागमा भारतले उठाउँदै गरेको तटबन्ध तस्बिरमा स्पष्ट देखिएको छ ।

भारतले तटबन्ध निर्माण थालेपछि जिल्ला प्रशासनले भारतीय प्रशासनलाई पत्र पठाएको थियो । १० चैत ०८१ मा पिथौरागढ जिल्ला अधिकारीलाई निर्माण कार्य रोक्न गरेको पत्राचारको बोधार्थ गृह मन्त्रालयसमेतलाई गरेको थियो । तर, त्यसको जवाफ अहिलेसम्म नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मोहनसिंह धामीले बताए । भारतीय पक्षको बलमिच्याइँको स्थानीयले समेत विरोध गरेका छन् । 

यसअघि पनि एक्स्काभेटर र जेसिबी लगाएर महाकाली नदी नेपालतर्फ खोतल्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको जेसिबी सुरक्षा प्रशासनले फिर्ता पठाएको थियो । यसैबिच नेपाली भूमिमा तटबन्ध निर्माण कार्य रोक्न माग गर्दै एमाले जिल्ला कमिटी दार्चुलाले शनिबार सिडिओ पौडेलमार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । 

त्यस्तै, भारतले अहिले तटबन्ध निर्माण गरिरहेको क्षेत्रमा तीन वर्षअघि नै काम थालेको थियो । त्यतिवेला व्यापक विरोध भएपछि ३० चैत ०७८ मा नेपाल–भारत दुवै देशका प्राविधिक टोलीले स्थलगत भ्रमण गरी वस्तुस्थितिबारे जानकारी लिएको थियो । त्यतिवेला निर्माण रोकेको भारतले फेरि एक महिनादेखि काम थालेको छ । तर, त्यतिवेला प्राविधिक टिमले गरेको अध्ययन प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । सीमा क्षेत्रमा दुवैपट्टि प्राविधिक टोलीले जमिनको अवस्थाबारे निरीक्षण गरे पनि प्रतिवेदनबारे आफूहरूलाई कुनै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए ।

सुझावित समाचार