शिक्षा समाप्तिपश्चात् एक व्यक्ति सन्त कविरलाई भेट्न उनको आश्रममा पुगे । सन्तसितको भेटघाटपछि उनले प्रश्न गरे– मेरो मनमा दुइटा प्रश्न आइरहेको छ– शिक्षा समाप्त भयो, अब बिहे गरूँ कि सन्न्यास धारण गरूँ ? कृपया, मलाई सही मार्ग देखाउनुहोस् ।
सन्त कविरले भने– दुवै काम ठिक छन् । जे गर्ने हो, त्यो उच्च कोटिको होस् । आगन्तुकले प्रश्न गरे– कसरी हुन सक्छ त त्यस्तो उच्च कोटिको ? कविरले भने– केही दिनमा सोचेर जवाफ दिनेछु । ती व्यक्ति हरेक दिन कविर आश्रम धाउन थाले । एक दिन दिउँसोका १२ बजेतिर कविर खुला र उज्यालो स्थानमा बसेर चर्खामा धागो कातिरहेका थिए । उनले पत्नीलाई टुकी बालेर ल्याउन आदेश दिए । पत्नीले कुनै प्रश्न नगरी तत्कालै बल्दो टुकी उनको नजिकै राखेर गइन् । टुकी बलिरह्यो, कविर धागो कातिरहे ।
साँझतिर कविरले ती व्यक्तिलाई एउटा पहाडमा लिएर गए । पहाडको निकै उचाइको कुटीमा एक वृद्ध साधु बस्थे । कविरले तलैबाट ठुलो स्वरमा ती साधुलाई बोलाए । वृद्ध र बिरामी साधु मुस्किलले तल झरे । कविरले प्रश्न गरे– साधु महाराज, तपाईंको आयु कति भयो ? साधुले जवाफ दिए– असी वर्ष । यति जवाफ दिएर साधु मुस्किलले उकालो चढे र कुटीमा पुगे । कविरले फेरि उनलाई तल बोलाए । साधु फेरि तल आए । कविरले प्रश्न गरे– तपाईं कहिलेदेखि यहाँ बस्दै हुनुहुन्छ ?
साधुले जवाफ दिए– ४० वर्षदेखि । फेरि ती साधु मुस्किलले माथि चढे र कुटीमा पुगे । कविरले फेरि उनलाई तल बोलाए । साधु फेरि तल झरे । कविरले प्रश्न गरे– महाराज, तपाईंका दाँत झरिसके कि बाँकी नै छन् ? साधुले जवाफ दिए– आधा झरिसके । साधु फेरि उस्तै शान्त भावमा उकालो चढे र कुटीमा पुगे । उनमा कुनै तनाव या आक्रोश थिएन ।
फर्किने समयमा कविरले ती व्यक्तिसित भने– तिमी गृहस्थ बन्न चाहन्छौ भने त्यस्तो जीवनसाथी चयन गर, जसले विनाप्रश्न तिमीमाथि भरोसा गरोस्, कुनै तर्क या वितर्क नगरोस् । अनि, साधु बन्न चाहन्छौ भने यस्तै साधु बन, जसले कुनै क्रोध, शोक या अप्ठ्यारोमा पनि सहज जीवन बाँच्न सकोस् ।