विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न एनसिई नेपालको माग

आइतबार, १४ बैशाख, २०८२
डिजिटल संस्करण

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न माग गरेको छ ।

१५–२२ वैशाखसम्म तय भएको शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहका अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले सार्वजनिक शिक्षालाई थप बलियो र सुदृढ बनाउनेगरी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने बताए ।

‘शिक्षा विधेयक झनझन पेचिलो बन्दै गएको छ, तत्काल जारी हुनेमा अझै सशंय छ,’ अध्यक्ष पहाडीले भने, ‘नागरिक समाजले सार्वजनिक शिक्षालाई थप बलियो र सुदृढ बनाउनेगरी शिक्षा विधेयक तत्काल पारित गर्न दबाबमूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने छ ।’

संविधानले अनिवार्य र निःशुल्क शिक्षाको सुनिश्चितता गरेपनि विद्यालय शिक्षा ऐन नहुँदा नहुँदा यसअघि जारी भएको निःशुल्क र अनिवार्य शिक्षा ऐनको कार्यान्वयनमा पनि चुनौती खडा भएको उनले बताए । एनसिईले राज्यको लगानीको २० प्रतिशत सार्वजनिक शिक्षामा विनियोजन गर्नुपर्ने माग गर्दै आएको छ ।

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहका अवसरमा विभिन्न कार्यक्रम पनि तय गरिएको छ । अध्यक्ष पहाडीका अनुसार सार्वजनिक शिक्षालाई थप बलियो र सुदृढ बनाउन दबाब दिनका लागि सोमबार काठमाडौंको भृकुटीमण्डपमा नागरिक समाजको प्रभातफेरी तथा रचनात्मक दबाब आयोजना हुँदैछ । विद्यालय शिक्षा विधेयक छिटो जारी गर्न मागसहित  मंगलबार राजनीतिक दलदका प्रमुख सचेतकसँग पैरवी गरिने उनले बताए । कार्यसप्ताहका अवसरमा प्रदेश र जिल्ला तहमा प्रदर्शन, सरोकारवालासँग नीतिगत बहस पनि हुने भएको छ । त्यस्तै, स्थानीय र प्रदेश सरकारलाई विद्यार्थीले लेखेका पत्र हस्तान्तरण पनि गरिने उनले बताए ।
 

सुझावित समाचार