लुम्बिनी कप महिला फुटबल : एपिएफको नजर ह्याट्रिक उपाधि

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

०७९ देखि घरेलु फुटबलमा अपराजित नेपाल एपिएफलाई रोक्ने योजनामा अर्को विभागीय क्लब पुलिस

नेपाल एपिएफ र नेपाल पुलिस क्लबले शुक्रबार पहिलो संस्करणको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने प्रतिस्पर्धा गर्दै छन् । उपाधि विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभागीय क्लब पुलिसले तीन वर्षदेखि घरेलु फुटबलमा अपराजित रहेको एपिएफको यात्रा पूर्णविराम लगाउने योजना बनाएको छ । ०७९ यता एपिएफलाई कुनै पनि घरेलु क्लबले हराउन सकेको छैन । एपिएफको अपराजित यात्रा रहँदा पुलिस तीन वर्षदेखि महिला फुटबलमा उपाधिविहीन छ । एपिएफले दुईपटक महिला लिगसँगै मोफसलमा भएका इलाम र चितवन गोल्डकप उपाधि जितेको छ । 

पुलिसका प्रशिक्षक सुमन सुवेदीले एपिएफमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहे पनि आफूहरू उपाधि जित्न खेल्ने बताए । ‘एपिएफमा अधिकांश खेलाडी राष्ट्रिय टोलीका छन्, उनीहरू अनुभवी पनि छन्,’ सुवेदीले भने, ‘पछिल्लो खेलमा हामीले हाम्रो शक्ति देखाएका थियौँ, एपिएफलाई हराउँदै च्याम्पियन बन्न सक्छौँ ।’ पुलिसकी कप्तान निरु थापाले पनि युवा खेलाडीले राम्रो प्रदर्शन गरेकाले उपाधि जित्नेमा विश्वास देखाइन् । ‘अहिले हामीसँग भएका युवा खेलाडी राम्रा छन्, उनीहरूले नेपालगन्जको यस्तो गर्मीमा निकै राम्रो खेलिरहेका छन्,’ थापाले भनिन् । 

पुलिसले लुम्बिनी कपका लागि मीना देउवा र सहारा लिम्बूलाई अनुबन्ध गरेको छ । दुई गोलका साथ मीना प्रतियोगिताकै उच्च गोलकर्ता बन्ने होडमा छिन् । राष्ट्रिय टोलीबाट खेलिसकेकी समीक्षा घिमिरे, अमृता जैशी, सुष्मा तामाङ र उषा नाथसँगै कप्तान थापाको साथमा पुलिस छ । उपाधि भिडन्तमा पुलिसले युवा खेलाडी निर्मला उपाध्याय, पुञ्जली कुस्वार, रेविका पाण्डे, अनुष्का शेर्पा, सेमिहाङ्मा लिम्बू, गंगा रोकायाबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । 

राष्ट्रिय खेलाडीले भरिएको एपिएफ 
उपाधि भिडन्तमा तुलनात्मक रूपमा एपिएफ बलियो देखिन्छ । एपिएफमा अनिता केसी, कप्तान बस्नेतसँगै एक दर्जन खेलाडीसँग राष्ट्रिय टोलीको अनुभव छ । चितवन र इलाममा आर्मीलाई हराएर उपाधि जितेको एपिएफले तेस्रो मोफसलको फाइनलमा पुनः विभागीय टोली पुलिसलाई प्रतिद्वन्द्वी पाएको हो । समूह ‘ए’मा पुलिसले पहिलो खेलमा भारतको सिलगुडी एफसीलाई ४–० ले हराएको थियो । सेमिफाइनलमा सडनडेथको आधारमा पुलिसले आर्मीलाई हरायो । एपिएफले पहिलो खेलमा कर्णाली प्रदेश फुटबल संघलाई ६–० ले हराएको थियो । सेमिफाइनलमा एपिएफले रौतहटमाथि ३–० को जित निकालेको थियो । 

एपिएफकी प्रशिक्षक भगवती थापाले रौतहटविरुद्ध दबाब भए पनि फाइनलमा पुलिससँग खेल्न तयार भएको बताइन् । ‘सेमिफाइनलमा सुरुमा गोल नहुँदा हामी दबाबमा परेका थियौँ, तर उपाधि भिडन्तमा यस्तो हुँदैन,’ थापाले भनिन्, ‘यहाँको मौसमले गाह्रो भएको हो, विभागीय डर्बीमा अपेक्षित खेल खेल्छौँ ।’ एपिएफकी कप्तान अनिता बस्नेतले पनि उपाधि जित्न तयार भएको बताइन् । 

सुझावित समाचार