एक घर एक धारा कार्यक्रमअन्तर्गत गोरखामा साढे ३३ हजार धारा जडान

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालू आर्थिक वर्षसम्म करिब ३३ हजार ७१५ धारा जडान गरिएका हुन् । 

कार्यालयको तथ्यांकअनुसार आव  ०८०/८१ सम्म जिल्लाभर ३३ हजार २१५ धारा जडान गरिएकामा चालू आवमा थप पाँच सयभन्दा बढी धारा  जडान भएका हुन् । यो जिल्लाको कुल लाभग्राहीमध्ये ९१.५ प्रतिशत हो । कार्यालयका सबइन्जिनियर दीपक खनालले यो कार्यक्रम लागू भएको पाँच वर्षमा उल्लेख्य प्रगति भएको बताए । ‘हाम्राे कार्यक्षेत्र गोरखा र लमजुङ हो । चालू आवमा दुवै जिल्लाका लागि ९१५ वटा धारा जडान गर्ने कार्यक्रम छ, त्यसमध्ये करिब तीन सय धारा लमजुङमा जडान भएका छन भने बाँकी गोरखामा जडान भएका छन्,’ उनले भने ।

एक घर एक धारा कार्यक्रमका लागि कार्यालयमा चालू आवमा रु. ३० करोड ३० लाख बजेट प्राप्त भएको खनालले जानकारी दिए । उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । ‘हालसम्म जिल्लाको ९१.५ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । यो तथ्यांक अन्य जिल्लाहरूको तुलनामा धेरै राम्रो हो,’ उनले भने। लमजुङमा आधारभूत खानेपानी पहुँच ८५.८८ प्रतिशत रहेको छ भने त्यहाँ हालसम्म करिब १९ हजार ४२० वटा खानेपानी धारा जडान गरिएका छन् ।

कार्यालयले धारा नभएका ठाउँमा जडान गर्ने र धारा भएका ठाउँहरूमा मर्मतसम्भारको काम गरिरहेको छ,  तर पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरूमा नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतको भनाइ छ । ‘पानीको स्रोत सुनिश्चितता र मूल दर्ताको काम भने स्थानीय सरकारको हो । हाम्रो कार्यालयले आयोजना निर्माणको काम मात्र हेर्छ । सोहीअनुसार काम गरिरहेका छौँ,’ उनले भने । 

जिल्लामा आर्थिक वर्ष ०७५/७६ देखि एक घर एक धारा अभियान सुरु भएको थियो । अभियानअन्तर्गत पानीको धारा निर्माणको काम करिब सम्पन्न भए पनि मर्मतसम्भार र नयाँ आयोजनाका काम भने निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ ।

सुझावित समाचार