देशभरका आवासीय चिकित्सकलाई काठमाडौंकेन्द्रित आन्दोलनमा आउन आग्रह

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल चिकित्सक संघले देशभरका आवासीय चिकित्सकलाई काठमाडौंकेन्द्रित आन्दोलनमा आउन आग्रह गरेको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै संघले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिकबाहेकका सेवा रोक्ने चेतावनी दिएको हो।

पछिल्लो २८ दिनदेखि आवासीय चिकित्सकहरू आन्दोलित छन्। उनीहरूले चिकित्सा शिक्षा आयोगले बढाएको निर्वाह भत्ता ४८ हजार ७३७ रुपैयाँ पाएका छैनन्। निजी मेडिकल कलेजहरूले आयोगले कायम गरेको निर्वाह भत्ता नदिएपछि आवासीय चिकित्सक आन्दोलित भएका हुन्।

चितवन मेडिकल कलेजमा आवासीय चिकित्सक विप्लव लामिछानेले आवासीय चिकित्सकहरूलाई मेडिकल कलेजले दबाएको बताए। ‘हामीलाई विद्यार्थी भनिएको छ, तर हामी मजदुर हौँ, यो कुरा कानुनमा पनि छ। तर, निजी मेडिकल कलेजहरूले श्रम शोषण गरिरहेका छन्,’ उनले भने।

निजी मेडिकल कलेजहरू नाफामा भए पनि तलब दिन नमानेका र उल्टै धम्क्याउने गरेकाे भन्दै उनले थपे, ‘उहाँहरूले खुट्टा भाँचिदिन्छौँ भन्नुभएको छ, तर हामीसँग उहाँहरूको अस्पतालमा उपचार गर्ने पैसा छैन।’

सुझावित समाचार