साबिक विजेता कोलकाता नाइट राइडर्स सोमबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सबाट ३९ रनले पराजित भएको छ । घरेलु मैदान इर्डन गार्डेनमा व्यहोरेको हारसँगै कोलकाता सातौैँ स्थानमै सीमित भएको छ । कोलकातामाथिको जितले गुजरात १२ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ ।
गुजरातले आठ खेलमा ६ जित र दुई हारको सामना गरेको छ । कोलकाताले आठ खेलमा तीन जित र पाँच हार निकालेको छ । पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा तीन विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । प्रत्युत्तरमा कोलकाताले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५९ रन मात्र बनाउँदा ३९ रनको हार सामना गरेको हो ।
लक्ष्य पछ्याएको इनिङ्समा कोलकाताले गतिलो ब्याटिङ गर्न सकेन् । कप्तान अजिन्का राहानेले मात्र अर्धशतकीय योगदान दिए । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ५० रन बटुले । ओपनर सुनील नारिनले १३ बलमा १७ रन बनाए । कोलकाताका लागि कुनै पनि विकेटका निम्ति राम्रो साझेदारी भएन ।
एन्ड्रेरसेलले १५ बलमा तीन चौका र एक छक्का प्रहार गरी १३ रन जोडे । यसअघि ब्याटिङ गरेको गुजरातका ओपनर साई सुदर्शन र कप्तान सुभमन गिलले पहिलो विकेटका लागि १२.२ ओभरमा एक सय १४ रनको आक्रामक साझेदारी गरेका थिए । साईले ३६ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५२ रन जोडे ।
गिलले जोस बटलरसँग दोस्रो विकेटका लागि ५८ रन जोडे । शतकतर्फ अग्रसर भएका गिलले आफ्नो विकेट १७.५ ओभरमा गुमाए । वैभव अरोराको ओभरमा गिल रहमानुल्लाहबाट क्याचआउट भए । गिलले ५५ बलमा १० चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ९० रनको योगदान दिए । शाहरूख खानले पाँच बलमा ११ रन जोडे ।