पर्यटकको रोजाइमा विचित्र गुफा

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

गुल्मीको धुर्कोट गाउँपालिका– ५ स्थित  विचित्र गुफा यतिवेला आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।

०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त गुफा पत्ता लगाएका थिए । पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्दथे । पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन् ।

हाल फ्रान्स, जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए । धेरै विदेशी नागरिक अरविन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए ।

उक्त गुफा १८५ मिटर लम्बाइ र ३५० मिटर चौडाइमा फैलिएको छ । स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँदर लखेट्ने क्रममा बाँदर एकाएक पहरा (चट्टान)को बिचमा रहेको सानो प्वालबाट भित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लगाएका स्थानीय युवराज भण्डारीले बताए ।

गुफाको मुख्य प्रवेशद्वारबाट भित्र भित्तामा देखिने विभिन्न आकृतिले जोकाेहीको पनि ध्यान केन्द्रित गर्ने गरेको छ । गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुंगिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्मा मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्ग जाने बाटो एकदमै साँघुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ ।

जो मानिस त्यहाँभित्र छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछ । गुफा क्षेत्रको विकासका लागि हालसम्म धुर्कोट गाउँपालिका, प्रदेश र संघबाट गरी दुई करोडभन्दा बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए । सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग दुवै रहेको छ । रासस

सुझावित समाचार