हालैको वर्षाबाट सात करोडबराबरको काँचो इँटा नष्ट

काँचो इँटाको बिमाको व्यवस्था गर्न सरकारसँग उद्योगीको माग

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

हालैको वर्षाले रुपन्देहीमा सात करोडबराबरको काँचो इँटा नष्ट भएको छ । दुई साताको बिचमा परेको पानीका कारण भट्टामा पकाउन तयारी अवस्थामा राखेका काँचो इँटा नष्ट भएको हो । लुम्बिनी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ताका अनुसार दुई करोड ५० लाख गोटा काँचो इँटा नष्ट भएको छ । एउटा काँचो इँटा तयार गर्न तीन रुपैयाँभन्दा बढी लागत पर्ने उनले बताए । 

रुपन्देहीका २६ उद्योगले पकाउन ठिक्क पारेको काँचो इँटा नष्ट हुँदा व्यवसायीलाई साढे सात करोडभन्दा बढी नोक्सान भएको संघका अध्यक्ष गुप्ताले बताए । सरकारैपिच्छे ‘माटो र भस्कट’मा चर्को कर र कोइलाको मूल्य बढ्दा उद्योगी मारमा परेको अवस्थामा बेमौसमी बर्सातका कारण समस्यामाथि समस्या थपिएको गुप्ताले बताए । ‘खुला आकाशमुनि गरिने व्यवसाय भएकाले सरकारसँग पटक–पटक बिमालगायत विषयमा कुरा गरिरहेका छौँ । तर, सरकार व्यावसायीको समस्या बुझ्नै चाहँदैन,’ उनले भने, ‘उद्योग जोगाउन राज्य पक्षबाट हुनुपर्ने कुनै काम भएको छैन ।’ 

इँटा व्यवसायी डोलराज पाण्डे पानीले आफ्ना दुई उद्योगमा मात्रै करिब १९ लाख काँचो इँटा नष्ट गरेको बताए । ‘वैशाखको अन्तिमसम्म मात्रै हो उद्योग चलाउने, यही वेला नै वर्षाले इँटा नष्ट भएपछि उद्योग बन्द भएका छन्,’ उनले भने, ‘पहिलो दिन पानी पर्यो, पम्पसेट चलाएर पानी फाल्यौँ, फेरि पर्यो । त्यसपछि लगातार पानी परेपछि काँचो इँटा पूरै नष्ट भयो ।’

पछिल्लो समय रुपन्देहीमा धमाधम इँटा उद्योग बन्द भइरहेका छन् । एक दशकअघिसम्म ५२ इँटा उद्योग रहेको जिल्लामा हाल २६ वटा मात्रै सञ्चालित छन् । संघका महासचिव दीपक पौडेलले संकटमा रहेका उद्योगमा वर्षाले बर्सेनि थप क्षति पुर्याउँदै आएको बताए । जिल्लामा सञ्चालित इँटा उद्योगमा करिब १० अर्ब लगानी छ । यी उद्योगले मुलुकलाई बर्सेनि करोडौँ रुपैयाँ कर तिर्छन् । त्यसैले, बर्सेनि करोडौँ रुपैयाँको क्षति व्यहोर्दै आएका उद्योगीलाई सहयोग पुर्याउन सरकारकै पहलमा काँचो इँटाको बिमाको व्यवस्था गरिनुपर्ने पौडेलले माग गरे ।

See More On

सुझावित समाचार