रोहित शर्मा र सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा मुम्बई इन्डियन्सले आइतबार इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्समाथि नौ विकेटको सानदार जित निकालेको छ । वाँखडेको घरेलु मैदानमा मुम्बईले २६ बलअघि जित हात पारेको हो । पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर १७६ रन जोडेको थियो । प्रत्युत्तरमा मुम्बईले १५.४ ओभरमा एक विकेटको क्षतिमा १७७ रन जोड्यो । रोहितले ४५ बलमा ६ छक्का र चार चौका प्रहार गरी ७६ रन बटुले । सूर्यकुमारले ३० बलमा पाँच छक्का र ६ चौका प्रहार गरी ६८ रन बनाए । दुवैले दोस्रो विकेटका लागि ५४ बलमा ११४ रन बनाएका थिए । जितसँगै मुम्बई छैटौँ स्थानमा उक्लेको छ । चेन्नई अंकतालिकाको पुछारमा छ ।
चेन्नईका दुई ब्याट्सम्यानले मुम्बईविरुद्ध अर्धशतकीय योगदान दिए । रवीन्द्र जडेजाले नटआउट ५३ तथा शिभम दुबेले ५० रन बनाए । जडेजा र दुबेले चोथो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई ६३–३ बाट १४२–४ को स्थितिमा राखे । जडेजाले ३५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । दुबेले ३२ बलमा चार छक्का र दुई चौका हिर्काए ।
पन्जाबले शीर्ष स्थानको मौका गुमायो
आइपिएलअन्तर्गत आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाब किंग्समाथि सात विकेटको सानदार जित निकाल्यो । मुलानपुर मैदानमा पहिलो ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १५७ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा बेंग्लोरले १८.५ ओभरमा तीन विकेटको क्षतिमा १५९ रन बनायो । हारसँगै पन्जाबले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जितले बेंग्लोर १० अंकका साथ तेस्रो स्थानमा उक्लेको छ ।
शीर्ष स्थानमा गुजरातले १० अंक जोडेको छ । दिल्ली क्यापिटल्स, लखनउले पनि समान १० अंक जोडेका छन् । बेंग्लोरको जितमा विराट कोहलीले अर्धशतकीय योगदान दिए । उनले ५४ बलमा ७३ रन बनाए । उनले सात चौका र एक छक्का प्रहार गरे । बेंग्लोरका लागि देवदत्त पदिकलले ३५ बलमा चार छक्का र पाँच चौका प्रहार गरी ६१ रनको योगदान दिए । यसअघि ब्याटिङ गरेको पन्जाबका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेल्न सकेनन् । ओपनर प्रियांश आर्या र प्रभसिमरन सिंहले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । आर्याले १५ बलमा तीन चौका र एक छक्का प्रहार गरी २२ रन बटुले । सिंहले १५ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३३ रन बनाए ।
जोस इंग्लिसले २९ तथा शशांक सिंहले ३१ रनको योगदान दिए । मार्कोस जान्सेनले दुई छक्काको सहयोगमा २५ रन बटुले । बेंग्लोरको ब्याटिङमा कोहली र देवदत्तले दोस्रो विकेटका लागि १०३ रनको शतकीय साझेदारी गर्दै जितको आधार बनाए ।
