नेपाल–अंग्रेज युद्धमा अंग्रेज फौजलाई बुटवलको जितगढीमा हराएको दिनको सम्झनामा जितगढी विजय उत्सव गरिएको छ। नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा बुटवल उपमहानगरपालिकाको आयोजनामा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइएको हो।
नेपाल–अंग्रेज युद्धका वेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ। हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अंग्रेज फौज पछि फर्किएको थियो। जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं. १८७२ साल वैशाख ७ गते अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो। सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ।
उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए। कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले सुरुङ बनाएका थिए भने बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए। त्यही फौजले विसं १८७१ सालदेखि सुरु भएको पटक–पटकको आक्रमण सामना गर्दै अन्ततः विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो। अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो। जितगढी उत्सवमा गोर्खाबाट आएको नेपाली सेनाको पैदल टोलिलाई बुटवलमा स्वागत गरिएको थियो।
जितगढी उत्सव समारोहमा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जितगढीको ऐतिहासिक महत्वको चर्चा गरेका थिए। उनले जितगढीमा जित हासिल गर्न नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापाको योगदानको उच्च सम्मान गर्नुपर्ने धारणा समेत राखेका थिए। त्यस्तै जितगढी किल्लाको संरक्षणमा पुराना ब्यक्तिहरुको योगदानको प्रसंशा पनि गरे।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग लविङ गर्ने बताएका थिए। जितगढी किल्लाको महत्वलाई विश्व सामु पुर्याउन संघीय सरकारसँग लविङ गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताए।