लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालगन्ज रंगशालामा वैशाख ५ देखि १२ गतेसम्म हुने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाइ, रङरोगन, खेलाडी आवास, यातायातको व्यवस्था, टिकट बिक्री, पार्किङ व्यवस्थापनलगायतका काम पूरा भएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए।
प्रतियोगिताका लागि टिम आउने क्रम पनि सुरु भएको मिडिया संयोजक निरज गौतमले बताए। उनका अनुसार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब नेपालगन्ज आइसकेको छ। नेपाल र भारतका गरेर आठ टिमको सहभागिता रहने प्रतियोगितामा अन्य टिमहरू पनि खेल तालिकाअनुसार आउनेछन्।
प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन्।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
हरेक खेलका ‘प्लेयर अफ द म्याच र विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने कार्यकारी निर्देशक शाहले जानकारी दिए। प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १ हजार ५०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ। साथै, विद्यार्थीको लागि सहुलियत रहेको आयोजकले जनाएको छ।