कांग्रेसले नौ महिनाअघि आफैँले समर्थन गरेर बनाएको सरकारसँग भरोसा टुटेको सार्वजनिक टिप्पणी गरेको छ । सरकारको काम र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरूका पछिल्ला टिप्पणी सत्ता–राजनीतिको सम्भावित ‘कोर्स’का लागि पर्याप्त रहेको विश्लेषण हुन थालेको छ ।
सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका पार्टी महामन्त्री गगन थापाले मंगलबार सरकारको काम र प्रधानमन्त्रीको नियतमाथि उठाएका प्रश्नलाई कांग्रेसले ‘संस्थागत धारणा’का रूपमा स्वीकार गरेपछि सरकारको स्थायित्वमाथि गम्भीर आशंका उत्पन्न भएको छ ।
ओलीमाथि गगनका चार गम्भीर प्रश्न
१. यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री म भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो ।
२. सरकारले कतिपय निर्णय गर्यो, त्यो गर्नुपर्ने आवश्यकता नै थिएन । चलाउनै नपर्ने कर्मचारीलाई अनावश्यक रूपमा चलाएर मानिसहरूलाई सडकमा आउनुपर्ने अवस्था सरकारले बनाइदियो । यस्तो अवस्थामा हामीले रामराम भन्ने हो, गर्ने के त ?
३. सुरुको चरणमा जोतिएर काम गरेको पनि हो । एकदम उत्साहको साथ धेरै बदल्न सकिन्छ भनेर लागेको पनि हो । आज एउटा, भोलि एउटा, पर्सि एउटा यहाँ राम्रो भएको छ, यहाँ राम्रो भएको छ भनेर माहोल बनाउनुपर्नेछ । देशलाई कंकर्डको स्पिड चाहिएको छ । तर, बिस्तारै के लाग्न थालेको छ भने सरकार ट्रयाक्टरको स्पिडमा छ ।
४. इकोनोमी यति धेरै दबाबमा परेको मैले देखेको थिइनँ । हाम्रो अर्थतन्त्र धेरै ठुलो दबाबमा छ । हाम्रो आर्थिक गतिविधि जताततै सुस्ताएको, सेलाएको छ । नेपालका बैंकमा यति धेरै पैसा कहिल्यै पनि थिएन । बैंकमा पैसा छ, लोन लिन कोही पनि जाँदैन । यति धेरै विदेशी मुद्राको सञ्चिति पनि कहिल्यै थिएन । तर, त्यसको प्रयोग कहाँ गर्ने हो थाहा छैन । हामीसँग अझै पनि सार्वजनिक ऋण लिन पाउने ठुलो स्पेस बाँकी छ । थुप्रै इन्डिकेटर ठिक ठाउँमा छ । तर, सिंगो समाजले कन्फिडेन्स लुज गरेको छ । बजारले कन्फिडेन्स लुज गरेको छ ।
गगन अहिले बोले, प्रचण्डले उतिवेला नै संसद्बाटै आरोप लगाएका थिए
प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले वर्तमान सरकार बिचौलियाहरूले चलाइरहेको दाबी गरेका थिए । ‘सरकारको दुईतिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैलेचाहिँ देखेको छैन । त्यो घोडा बिचौलियाहरूले चलाएका छन् । तपाईंहरूले गर्ने नियुक्ति, तपाईंहरूले गर्ने सेटिङ तपाईंहरूले गरेको मैले त देख्दिनँ, ती त बिचौलियाहरूले उनीहरूले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु– एउटै नियुक्ति, एउटै नीति र एउटै निर्णय मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिए मात्र हुन्छ । सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छ, केही समयअघि प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरूको हस्तक्षेप रहेको दाबी गर्दै भनेका थिए ।
प्रधानमन्त्रीको कार्यशैलीको विकल्प खोज्दै छौँ : मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख, कांग्रेस
महामन्त्रीको मात्रै होइन, कांग्रेसकै कुरा हो त्यो । सरकारले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न सकेको छैन भन्ने हाम्रो प्रश्न हो । सरकारले कार्यशैलीमा परिवर्तन गर्नुपर्यो । संयन्त्रबाट महामन्त्रीले सुझाव दिनुभयो । सभापतिले पनि सुझाव दिनुभयो । तर, परिणाम नआएको अवस्थामा सबै ठिक छ भनेर बोल्न सक्ने स्थिति छैन । विपक्षी दलले सरकारको विकल्प खोज्दै छन् । हामी सत्तारूढ दलले सरकारको कार्यशैलीको विकल्प खोज्दै छौँ । हाम्रो सभापतिले प्रधानमन्त्रीको कार्यशैलीको विकल्प खोज्नुभएको छ, सरकारको विकल्प होइन ।
गगनजी बिहान एउटा बोल्नुहुन्छ, बेलुकी अर्कै बोल्नुहुन्छ : राजेन्द्र गौतम, प्रमुख, एमाले प्रचार विभाग
गगनजी आफूलाई बजारीकरण गर्नका निम्ति निकै सिपालु हुनुहुन्छ । नेपाली राजनीतिमा आफूलाई बजारीकरण गर्ने अनि त्यसमा आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नुहुन्छ । पपुलारिटीका लागि उहाँ निकै माहिर हुनुहुन्छ । उहाँ बिहान एउटा भन्नुहुन्छ, बेलुका अर्को । उहाँले अहिले विकल्प होइन, सरकारको कार्यशैलीमा परिवर्तन भनिसक्नुभयो । जिम्मेवार नेतृत्वले विषयवस्तु, अन्तर्य र गम्भीरतालाई हेरेर अभिव्यक्ति दिनुपर्छ ।
जनताको घेराबन्दीमा परेपछि सत्तारूढ दलबाटै असन्तुष्टि आउनु स्वाभाविक हो : अग्नि सापकोटा, प्रवक्ता, माओवादी
सरकार सबै क्षेत्रमा असफल भएको छ । चौतर्फी रूपमा आन्दोलनको घेराबन्दीमा छ । अब उम्कनै नसक्ने गरी जनताको घेराबन्दीमा परेपछि सत्तारूढ दलबाटै असन्तुष्टि आउनु स्वाभाविक हो । दुईतिहाइको दम्भले गर्दा आफ्नै भारले सकिने अवस्थामा सरकार पुग्यो । सत्तारूढ दलका नेताहरूको अभिव्यक्ति हेर्दा उहाँहरूको बिचमा अन्तरविरोध चर्किएको देखिन्छ ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेलको टिप्पणी : सत्तारूढ घटककै नेताले कुरा उठाएपछि प्रधानमन्त्री दबाबमा पर्छन्
सरकारको आलोचना तीव्र रूपमा भइरहेको छ । सरकारले राम्रो काम गर्न सकिराखेको छैन । यस्तो वेला प्रश्न उठ्नु स्वाभाविक हो । सत्तारूढ घटककै नेताले कुरा उठाएपछि प्रधानमन्त्री दबाबमा पर्छन् । तर, कांग्रेसको निर्णायक ठाउँमा गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइराला छैनन् । मासमा गगनले राम्रो बोले भन्ने पर्ने भयो । कुरा उठ्नेबित्तिकै प्रधानमन्त्रीले देउवालाई भेटिसके । ओलीलाई झुकाउनका लागि यी कुराले मद्दत गर्छ जस्तो लाग्छ । यसलाई राजनीतिक कोर्स परिवर्तनको हिसाबमा मैले बुझेको छैन । किनकि, नेपालमा अगाडि बढ्ने काम सुटुक्क हुन्छ, नेपाली जनताले पछाडि थाहा पाउँछन् । जबसम्म देउवा तात्दैनन्, तबसम्म फेरबदल हुँदैन ।