प्रेरक प्रसंग : दबाउन नसकिएको एक स्वर

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

२ जुलाई १९९७ मा पाकिस्तानको सुन्दर तर अशान्त स्वात उपत्यकामा जन्मिएकी मलाला युसुफजाई कुनै साधारण किशोरी थिइनन् । सानै उमेरदेखि नै उनले शिक्षाको शक्ति, यसको पहुँचले जीवनमा ल्याउन सक्ने उज्यालो र यसको अभावले समाजमा पार्ने गहिरो असरलाई बुझ्न थालेकी थिइन् । जहाँ छोरीहरूलाई विद्यालय जानबाट रोकिन्थ्यो, विद्यालय गएका बालिकाले धम्की र हिंसाको सामना गर्नुपथ्र्यो, त्यहाँ मलालाले डर मान्नुभन्दा मुखर भएर विरोध जनाउने बाटो रोजिन् । उनको साहस सराहनीय थियो, तर त्यसका पछाडि उनले ठुलो मूल्य चुकाउनुपर्यो । सन् २०१२ मा विद्यालयबाट फर्कंदै गर्दा तालिबानका एक बन्दुकधारीले उनको टाउकोमा गोली हाने । 

उनको ‘अपराध’ छोरीहरूलाई पनि पढ्ने अधिकार हुनुपर्छ भन्ने कुरा खुलेर भन्नु मात्रै थियो । यो क्रूर आक्रमणले संसारलाई स्तब्ध बनायो । तर, जसले उनलाई चुप गराउने सोच बनायो, त्यही घटनाले मलालाको आवाजलाई विश्वभर फैलाइदियो । यो आततायी आक्रमणपछि पनि मलालाले आफ्नो बाटो छाडिनन् । उनले यसलाई आफ्नो अभियानको केन्द्रमा राखिन् र अझ दृढ बनिन् । 

१७ वर्षको उमेरमा उनी नोबेल शान्ति पुरस्कार जित्ने विश्वकै सबैभन्दा कान्छी व्यक्ति बनिन् । र, यो सम्मान उनको पीडादायी अनुभवका लागि नभई परिवर्तनका लागि गरिएको उनको निरन्तर र साहसी योगदानका लागि थियो । उनले स्थापना गरेको मलाला कोष आज विश्वभरिका किशोरीको शिक्षाका लागि क्रियाशील छ, विशेषगरी ती समुदायमा, जहाँ शिक्षालाई अझै पनि विशेषाधिकार मानिन्छ । मलाला आज पनि प्रेरणाको पर्याय बनेकी छन् ।

उनी न डरले थिचिएकी महिला हुन्, न पीडाले मौन बनाएकी महिला हुन् । उनी संघर्षबाट ऊर्जाशील बनेकी एक उदाहरण हुन् । उनका पाइला लाखौँ युवाका लागि प्रेरणा बनेका छन् । त्यसैले त उनी बारम्बार ‘एउटा कलम, एउटा पुस्तक र एउटा शिक्षकले संसार बदल्न सक्छ’ भन्ने स्मरण गराउँछिन् । 

सुझावित समाचार