प्रेरक प्रसंग : चिकित्सक र मेकानिक

सोमबार, १ बैशाख, २०८२
डिजिटल संस्करण

सहरमा एउटा कार ग्यारेज थियो । सो ग्यारेजका सञ्चालक मनोज नामका एक मेकानिक थिए । उसो त उनी निकै असल मानिस थिए । तर, उनमा एउटा कमजोरी थियो । उनी आफ्नो कामलाई ठुलो र अरूले गर्ने कामलाई सानो ठान्थे । एक दिन एक मुटुरोग विशेषज्ञ आफ्नो लक्जरी कार लिएर त्यसको सर्भिसिङ गराउन उनको ग्यारेजमा पुगे । कारको सर्भिसिङ गर्दै जाँदा चिकित्सक र मेकानिक मनोजबिच कुराकानी चल्दै गयो । कुराकानीका क्रममा मनोजले आफ्ना ग्राहक मुटुरोग विशेषज्ञ हुन् भन्ने थाहा पाए ।

उनले तुरुन्तै भने– डाक्टर साब, तपाईं र मेरो काम त एकै प्रकारको पो रहेछ हगि ? चिकित्सकले सोधे– एकै प्रकारको ? त्यो कसरी ? मनोजले जटिल इन्जिन देखाउँदै भने– यो इन्जिन यस कारको मुटु हो । यो कसरी चल्छ, कति समय चल्छ भन्ने राम्ररी जाँचबुझ गरेर म यसलाई खोल्छु, यसका भल्ब चेक गर्छु, सफा गर्छु, राम्ररी सर्भिसिङ गर्छु, यसको समस्या समाधान गर्छु र फेरि पहिलेकै स्थानमा जडान गर्छु । तपाईं पनि त यस्तै केही गर्नुहुन्छ नि, होइन र ? 

चिकित्सकले खासै केही जवाफ दिएनन् । केवल यत्ति भने– अँ... ! मनोजले प्रश्न गरे– अनि तपाईंले मैले भन्दा १० गुणा बढी पैसा किन पाउनुहुन्छ ? जब कि हामी दुवैले समान काम गर्छौं ? एकैछिन सोचेर मुसुक्क मुस्कुराउँदै चिकित्सकले भने– जे तिमीले गरिरहेका छौ, त्यसलाई चालू इन्जिनमा गरेर हेर, अनि सबै बुझ्नेछौ । मनोजले यसअघि यस्तो कुनै पनि जवाफ झेल्नुपरेको थिएन । अब उनले आफ्नो गल्ती थाहा पाइसकेका थिए ।
 

सुझावित समाचार