रोल्पामा चट्याङ लागेर १६ वर्षीया बालिकाको मृत्यु, दुई घाइते

बिहिबार, २७ चैत, २०८१
डिजिटल संस्करण

रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बुधबार राति करिब १ बजेको समयमा चट्याङमा परी सुनिलस्मृति गाउँपालिका– ५, काप्जिङ बस्ने झम्के खत्रीकी छोरी १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङमा पर्दा धनमायाको घटनास्थलमै मृत्यु भएको छ भने घरमै रहेका अन्यलाई भने केही नभएको बुझिएको छ ।

त्यस्तै, सोही गाउँका टीकाबहादुर खत्रीका १५ वर्षीय छोरा नवीन खत्री चट्याङ लागेर घाइते भएको र उनको स्थानीय क्वालिगाउँ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । काप्जिङ गाउँकै अर्का टीकाबहादुर घर्तीको घरमा परेको चट्याङले १३ वर्षीया छोरी लीला घर्ती घाइते हुनुका साथै दुईवटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

यता जिल्लाकै रुन्टीगढी गाउँपालिका– ५, हापखोलास्थित बालकल्याण प्राविको विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ । विद्यालयको जस्ताको छानो उडाएपछि कार्यालयको सम्पूर्ण कागजपत्र भिजेर क्षति भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी गाउँपालिका– ३ मा पनि चट्याङले घरमा क्षति पुगेकाे छ ।

स्थानीय कुलबहादुर बुढाको ढुंगा, माटो र टिनले छाएको कच्ची घरमा चट्याङ पर्दा सोलार प्यानल, ब्याट्री र साउन्ड बक्स जलेर पूर्ण रूपमा क्षति भएको र घरको भित्तासमेत चर्किएको प्रहरीको भनाइ छ ।

सुझावित समाचार