सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी निर्देशिका कार्यान्वयनमा उद्योगमन्त्रीको अवरोध

स्वास्थ्य मन्त्रालयको निर्णय लागू नगर्न उद्योगमन्त्री भण्डारीको पत्र

बुधबार, २६ चैत, २०८१
डिजिटल संस्करण

सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोप्ने गरी चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका कार्यान्वयनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अवरोध गरेका छन् । उद्योगमन्त्री भण्डारीले पत्र नै पठाएर स्वास्थ्य मन्त्रालयलाई उक्त निर्देशिका कार्यान्वयन नगर्न भनेका हुन् । तर, स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयको पत्र कार्यान्वयन नहुने प्रतिक्रिया दिएको छ । 

उद्योगमन्त्री भण्डारीले ११ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै १३ चैतमा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका थिए । मन्त्री भण्डारीले पत्रमार्फत ०८१ भदौदेखि लागू हुने नयाँ निर्देशिका कार्यान्वयन नगर्न भनेका छन् । पत्रमा निर्देशिका कार्यान्वयन नगर्न चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगीहरूको माग आएकोसमेत उल्लेख छ ।

१३ माघमा स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोप्ने गरी चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेका थिए । यसअघिको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा थियो । त्यसलाई संंशोधित गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका थिए । निर्देशिका भदौ ०८२ देखि कार्यान्वयनमा आउने भनिएको थियो । नयाँ निर्देशिकाका कारण सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा असर पर्ने बताउँदै उद्योगीले उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यसैका आधारमा उद्योगमन्त्रीले निर्देशिका कार्यान्वयन नगर्नेबारे निर्णय लिएका हुन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उद्योग मन्त्रालयबाट आएको पत्र कार्यान्वयन नहुने बताए । ‘पत्र आएको छ, तर त्यो कार्यान्वयन हुँदैन । मन्त्रालय निर्णयबाट पछि हट्दैन किनभने सुर्तीजन्य पदार्थले निम्त्याएका रोगको अवस्था भयावह छ,’ उनले भने, ‘धूम्रपान सेवन कम होस् र नसर्ने रोगको पनि नियन्त्रण गरोस् भन्ने सोचले निर्देशिका ल्याइएको हो । उद्योग मन्त्रालयले अहिलेलाई सोच्यो । हामीले दीर्घकालीन रूपमा सोचेका छौँ । त्यसैले निर्देशिका कार्यान्वयन हुन्छ ।’

सुझावित समाचार