धनकुटामा जारी १७औं सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ।
धनकुटा नगरपालिका–५ को तल्लो टुँडिखेलमा आज सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा व्बाईज फुटबल क्लब इटहरी सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाट फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो।
खेलको १८औं मिनेटमा गाईघाटका १० नम्बर विदेशी खेलाडी फोफानाले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। खेल निकै प्रतिस्पर्धात्मक भएपनि अधिकांश समय व्बाईज फुटबल क्लब इटहरीले बल आफ्नो नियन्त्रणमा राख्न सफल भयो। तर गोल गर्न चुक्दा पराजित भएर घर फर्कन बाध्य भयो।
आजको खेलको म्यान अफ दी म्याच गाईघाट फुटबल क्लबका गोलकिपर अनिल मगर घोषित भए। उनले नगद ५ हजार ५ सय र ट्रफी प्राप्त गरे।
भोलि गत वर्षको विजेता विर्तामोड यूनाइटेड क्लब झापा र चित्लाङ फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार हात पार्ने छन्।