डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरेक्सनले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डमाथि ‘अस्वीकार्य दबाब’ दिएको आरोप लगाएकी छिन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा आर्कटिक क्षेत्रमा पर्ने ग्रिनल्यान्डमा विवादास्पद उच्चस्तरीय भ्रमण हुन लागेको पूर्वसन्ध्यामा फ्रेडरेक्सनको यस्तो प्रतिक्रिया आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिका उग्र समर्थक भान्स शुक्रबार आफ्नी श्रीमती उषा र अन्य वरिष्ठ अधिकारीसँगै ग्रिनल्यान्डमा रहेको अमेरिकाको पिटुफिक अन्तरिक्ष आधारको भ्रमण गर्दै छन् । ‘आर्कटिक क्षेत्रको सुरक्षा मुद्दाहरूको जानकारी लिन र अमेरिकी सैन्य सेवामा कार्यरत सदस्यसँग भेट्न’ भान्सले अन्तरिक्ष आधारको यात्रा गर्न लागेको उनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ ।
‘ग्रिनल्यान्ड र डेनमार्कमाथि अहिले अस्वीकार्य दबाब दिइँदै छ । तर, हामी यो दबाबको प्रतिरोध गर्नेछौँ,’ फ्रेडरेक्सनले मंगलबार डेनिस टेलिभिजनहरू डिआर र टिभी२ सँग बोल्ने क्रममा बताइन् । ‘यो स्पष्ट रूपमा ग्रिनल्यान्डलाई के आवश्यक छ वा ऊ के चाहन्छ भन्नेबारे गर्न लागिएको भ्रमण होइन,’ फ्रेडरेक्सनले सो स्वायत्त डेनिस टापुमाथि वासिंटनको चासोप्रति इंगित गर्दै भनिन् ।
‘राष्ट्रपति ट्रम्प ग्रिनल्यान्डलाई लिएर गम्भीर छन् । उनी ग्रिनल्यान्ड अमेरिकामा गाभ्न चाहन्छन् । त्यसकारण, यो भ्रमणलाई अन्य कुनै हिसाबबाट स्वतन्त्र रूपमा हेर्न सकिँदैन,’ उनले भनिन् ।
स्वशासित क्षेत्रका हिसाबमा ग्रिनल्यान्डमा पनि एक स्वायत्त सरकार छ । त्यहाँको वर्तमान कार्यवाहक सरकार प्रमुख म्युट एगेडले अमेरिकाका दोस्रो शीर्षपदस्थ पदाधिकारीबाट विनानिमन्त्रण हुन लागेको भ्रमणलाई ‘तनाव सिर्जना गर्ने प्रयास’को रूपमा व्याख्या गरे । यस भेगमा भर्खरै भएको चुनावपछि सरकार गठनका लागि गठबन्धन वार्ता हुन लागेको वेला यो भ्रमण हुन लागेकोप्रति पनि उनले असन्तुष्टि जनाए ।
निवर्तमान ग्रिनल्यान्ड सरकारले फेसबुकमा पोस्ट गर्दै भान्सलाई भ्रमणका लागि व्यक्तिगत वा आधिकारिक रूपमा कुनै ‘निमन्त्रणा नपठाइएको’ स्पष्ट गर्यो । जनवरीमा दोस्रो कार्यकाल सुरु गरेदेखि नै ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड कब्जा गर्न चाहेका छन् । उनले यस उद्देश्य हासिल गर्न आवश्यक परे सैन्यबल प्रयोगको सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् ।
‘हामी त्यहाँको वस्तुस्थिति जाँच गर्न जान लागेका हौँ,’ भान्सले मंगलबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गरी आफ्नो ग्रिनल्यान्ड भ्रमणबारे बताएका छन्, ‘राष्ट्रपति ट्रम्पले भनेजस्तै हामी ग्रिनल्यान्डका जनताको सुरक्षालाई थप जोड दिन चाहन्छौँ । किनकि, ग्रिनल्यान्ड सम्पूर्ण विश्वको सुरक्षाका लागि महŒवपूर्ण छ भन्ने हामीलाई लाग्छ,’ उनले भने ।
ग्रिनल्यान्डमा रहेको अमेरिकी सैन्य आधारको भ्रमणमा भान्स र उनकी श्रीमतीसँगै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र अमेरिकी ऊर्जामन्त्री क्रिस राइट समावेश हुनेछन् । आफ्नो देशको आधारको मात्र भ्रमण गरेर भान्सले औपचारिक निमन्त्रणाविना अर्को देश गई हुने सम्भावित कूटनीतिक नियम उल्लंघनका केही जोखिम कम गरेका छन् ।
भान्सले यसअघि नै लामो समयदेखिका युरोपेली सहयोगीलाई चिढ्याउने अभिव्यक्ति दिइसकेका छन् । उनले सार्वजनिक रूपमा युरोप अमेरिकी सैन्य सहयोगको भर परेको र अन्तर्राष्ट्रिय सुरक्षामा आफ्नै स्रोत समर्पित गर्न अनिच्छुक रहेको आरोप लगाए ।
अल जजिराबाट