तिलोत्तमा गोल्डकपको उपाधिनजिक एपिएफ

बिहिबार, १४ चैत, २०८१
डिजिटल संस्करण

नेपाल एपिएफ क्लब २३औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफको जितमा युवराज खड्काले एक मात्र निर्णायक गोल गरेका थिए । 

दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरी खेलेका थिए । यसक्रममा एपिएफ र संकटाले केही उत्कृष्ट अवसर बुने पनि फिनिसिङमा चुक्दा गोल निकाल्न सकेनन् । त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकरउन्मुख थियो । तर, थप ६ मिनेटको इन्जुरी समयमा युवराजले एपिएफलाई १–० को अग्रता दिए । उनले ९४औँ मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाउँदै डिबक्सभित्र उत्कृष्ट गोल गरेका हुन् । 

संकटाका गोलरक्षक विशाल केसीले युवराजले प्रहार गरेको बल फुत्काएका थिए । अनुभवमा कमी देखिएका विशालको हातबाट बल फुत्किएसँगै रिबाउन्डमा युवराजले गोल गरेका हुन् । एपिएफले पहिलो क्वार्टरफाइनलमा आयोजक रुपन्देही ११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । गत फागुनमा सभापति कप जित्दै मोफसल ओर्लिएको संकटाले जर्जियन फुटबल क्लब, कालिम्पोङ भारतलाई ४–० ले हराउँदै एपिएफसँगको भेट पक्का गरेको थियो ।  

सुझावित समाचार