एक पोथी बाँदर आफ्नो बच्चाका साथमा एउटा रुखको हाँगामा बसिरहेकी थिई । बच्चाले भन्यो– आमा, मलाई भोक लाग्यो, के तपाईं मलाई खानयोग्य केही पात टिपेर दिन सक्नुहुन्छ ? आमा बाँदर हल्का मुस्कुराई र भनी– दिन त सक्छु, तर आफ्ना लागि तिमी आफैँले पात टिप्नु राम्रो हुन्छ ।
बच्चाले उदास हुँदै भन्यो– तर म त राम्रा पात चिन्दिनँ नि आमा ! आमाले भनी– तिमीसँग दुई विकल्प छन् । यो रुखलाई राम्ररी हेर । तिमीले चाहेमा तलका हाँगाबाट पुराना, छिप्पेका र कडा पात टिप्न सक्छौ । अथवा, माथिका मसिना हाँगाबाट ताजा, कलिला र नरम पात टिपेर खान सक्छौ । बच्चाले भन्यो– यो ठिक विकल्प भएन आमा ! राम्रा, नरम र ताजा पात तलतलका हाँगामा किन पलाउँदैनन् ? आमा बाँदरले भनी– महत्वपूर्ण कुरा नै यही त हो । सबैको पहुँचमा त्यस्ता पात हुन्थे भने ती सबैका लागि कसरी उपलब्ध हुन्थे त ? पलाउन लाग्दानलाग्दै सबैले चुँडेर खाइहाल्थे नि ! बच्चाले चिन्तित हुँदै भन्यो– तर, यी मसिना हाँगामा चढ्नु खतरनाक साबित हुन सक्छ । मेरा गोडा चिप्लिन पनि सक्छन् । म तल खसेँ भने घाइते हुन पनि त सक्छु ।
आमा बाँदरले भनी– सुन छोरा, जहिल्यै यो कुरालाई मनमा राख्नू, हामी आफ्नो दिमागमा खतराको जुन तस्बिर बनाउने गर्छौं, प्रायः खतरा त्योभन्दा निकै कम हुने गर्छ । बच्चाले फेरि प्रश्न गर्यो– त्यसो हो भने हाम्रा सबै साथी र आफन्तहरूले तिनै हाँगाबाट ताजा, कलिला र नरम पात टिपेर किन खाँदैनन् त ? आमा बाँदरले केही सोची र भनी– किनकि, अधिकांश बाँदरहरूमा डराएरै बाँच्ने बानी परिसकेको हुन्छ । उनीहरूमा तिनै सडेगलेका, छिप्पेका, कडा पात खाएर त्यसैको गुनासो गर्ने बानी परिसकेको हुन्छ ।
उनीहरू खतरा मोलेरै भए पनि ताजा र नरम पात खाने कोसिस गर्दैनन् । तर, तिमी कहिल्यै यस्तो नगर्नू । यो जंगल अनेकौँ सम्भावनाले भरिएको छ । आफ्नो डरमाथि विजय हासिल गरेर तिमी जस्तो जिन्दगी बाँच्न चाहन्छौ, त्यसैगरी रमाएर बाँच । आमाको कुरा सुनेर आफूले के गर्नुपर्छ भन्ने बच्चाले बुझिसकेको थियो । उसले तत्काल आफ्नो डरलाई पछाडि छाडेर ताजा, नरम र कलिला पात टिपेर आफ्नो भोक मेटायो ।