राष्ट्रिय सभाको बैठक पनि भोलि बिहीबारसम्मलाई स्थगित भएको छ।
सांसदहरूको अवरोधले केही समय स्थगित बैठक अपराह्न पौने ४ बजे पुनः बसेको थियो। दोस्रो बैठकमा पनि सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेका थिए।
सभाका अध्यक्ष नारायण दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने भन्दै बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए। ‘हाम्रा कतिपय समस्या छन् भने बसेर छलफल गरेरै टुंग्याएर जान सक्छौँ । सदन अवरोध गरेर मात्रै समस्या हल हुन्छ भन्ने परम्पराको अन्त्य गर्न राष्ट्रिय सभा कस्सियो भने सकिन्छ जस्तो लाग्छ मलाई,’ उनले भनेका थिए।
सदन चल्न दिन सभाध्यक्षले आग्रह गरे पनि सांसदहरूले अवरोध कायम राखेपछि अन्ततः बैठक स्थगित भयो। अर्को बैठक भोलि बिहीबार मध्याह्न १२ः१५ बजे बस्ने गरी बोलाइएको छ।
उता, प्रतिनिधिसभाको बैठक पनि बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।