तीन महिनापछि वायुसेवा निगमको आन्तरिक उडान सुरु

दुईवटा जहाजमध्ये एउटाको इन्जिन फेरेर सोमबारदेखि थालियो व्यावसायिक उडान

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एउटा जहाज मर्मत गरेर आन्तरिक उडानमा फर्केको छ । नयाँ इन्जिन फेरेर ट्विनअटर ९एन–एबियू विमानले सोमबारदेखि व्यावसायिक उडान थालेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

सोमबार काठमाडौंबाट सोलुखुम्बुको फाप्लु विमानस्थलमा उडान गरेको विमानले मंगलबार काठमाडौं–भोजपुर उडान गरेको थियो । ‘मर्मत गरेको एबियू जहाजबाट आन्तरिकतर्फ नियमित यात्रु उडान सुरु भएको छ,’ उनले भने ।

इन्जिनको उडान आवर सकिएर ७ पुसमा एबियू जहाज ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प थियो । त्यसअघि गत २३ जेठमा ट्विनअटर ९एन–एबिटी ग्राउन्डेड भइसकेको थियो । निगम व्यवस्थापनले समयमै इन्जिनको जोहो गर्न नसक्दा राष्ट्रिय ध्वजावाहकको तीन महिनासम्म आन्तरिक उडान ठप्प हुन पुगेको थियो । मर्मत गरिएको जहाज पनि ग्राउन्डेड भएको ९३ दिनपछि नियमित उडानमा फर्किएको हो । २३ जेठदेखि ग्राउन्डेड एबिटी ट्विनअटर भने सञ्चालनमा आउने अझै टुंगो छैन ।

जहाज मर्मतका लागि अर्डर गरिएका तीनवटा इन्जिनमध्ये दुईवटा आइपुगेको निगमले जनाएको छ । ‘एउटा इन्जिन एबियूमा जडान गरेर उडानमा फर्किसक्यो, अर्को इन्जिन पनि ग्राउन्डेड भएर बसेको जहाजमा जडान गर्ने योजना छ,’ निगम स्रोतले भन्यो ।

१३ वर्षदेखि ग्राउन्डेड छन् जहाज
निगमसँग आन्तरिकतर्फ तीनवटा ट्विनअटर र पाँचवटा चिनियाँ जहाज रहेका छन् । जसमध्ये एउटा ट्विनअटर विमान १३ वर्षदेखि ग्राउन्डेड छ । चिनियाँ जहाज ‘दुईवटा एमए–६० र तीनवटा वाई १२ई) उडाउँदा आम्दानीभन्दा खर्च धेरै भएपछि असार ०७७ देखि सधैँका लागि ग्राउन्डेड गरिएको छ ।

निगम व्यवस्थापनको चरम लापरबाहीका कारण ट्विनअटर महिनौँ ग्राउन्डेड गर्नुपरेको स्रोतको भनाइ छ । ‘निगमसँग भएका जगेडा इन्जिनहरू समयमै मर्मत गरेर राखिएन, जहाज ग्राउन्डेड हुने समय आएपछि बल्ल इन्जिन मर्मत तथा लिजका लागि एमआरओ छनोटको काम सुरु गर्दा समस्या हुने गरेको छ,’ स्रोतले भन्यो ।

जहाज मर्मत सकेर उडानमा फर्किँदा पाइलट अयोग्य 
पाइलटलाई तयारी अवस्थामा राख्न पनि निगम व्यवस्थापन चुकेको छ । ग्राउन्डेड भएको एबियू तीन महिनापछि इन्जिन फेरेर उडानयोग्य त बन्यो, तर उडान गर्ने पाइलटको ‘पाइलट दक्षता परीक्षण (पिपिसी)’को म्याद सकिएको पत्तो भएन ।

व्यावसायिक उडान गर्ने पाइलटले तीन–तीन महिनामा पिपिसी प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ । पाइलटलाई तयारी अवस्थामा नराख्दा बल्लतल्ल मर्मत भएको जहाज पनि समयमै उडाउन नसकिएको स्रोतको भनाइ छ । ‘तारा एयरको पाइलट ल्याएर परीक्षण उडान गरी निगमका पाइलटको पिपिसी प्रमाणीकरण गरेपछि बल्ल उडानको बाटो खुलेको हो,’ स्रोतले भन्यो ।

अहिले पनि निगमका पाइलटको पिपिसी प्रमाणीकरण गर्ने काम भइरहेको स्रोत बताउँछ । मंगलबार सिमरा उडान गर्नुपर्ने जहाज पाइलटको पिपिसी क्लियर गर्नका लागि पोखरा उडान गरिएको स्रोतको भनाइ छ । निगमले मासिक सातदेखि १० लाख रुपैयाँसम्म तलब दिएर राखेका आइपी, क्याप्टेन र को–पाइलट पिपिसी प्रमाणीकरण नहुँदा फुर्सदिला बनेका छन् ।
 

सुझावित समाचार