प्रधानमन्त्री कपमा सय विकेट लिने ललित पहिलो बलर

लगातार आठ सिजनमा ४२ खेलबाट ललितले १०३ विकेट पुर्‍याए

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिता (पिएम कप) मा सय विकेट लिने पहिलो बलर बनेका छन् । ललितले पिएम कपमा ४२ खेलबाट सय विकेट लिएका हुन् । सन् २०१७ देखि निरन्तर रूपमा ललितले प्रतिस्पर्धा गरिरहेका छन् । समग्रमा उनले आठ सिजनमा एक सय तीन विकेट संख्या पुर्याएका छन् । उनले एक हजार १३ रन दिनुका साथै ४५ मेडन ओभर गरेका छन् । यो सिजनमा उनले आठ खेलमा सर्वाधिक ३६ विकेट लिएका छन् । 

पिएम कपमा सय विकेटनजिक अर्का बलर त्रिभुवन आर्मी क्लबका साहब आलम हुन् । साहबले अहिलेसम्म ९९ विकेट लिएका छन् । उनले ४८ खेलको ४६ इनिङ्स खेलेका छन् । तेस्रो नम्बरमा सुदूरपश्चिमका शेर मल्लले ६९ विकेट लिएका छन् । चालू आठौँ संस्करणको लिग चरणको अन्तिम खेलमा आर्मी र पुलिसबिच प्रतिस्पर्धा हुनेछ । यसै खेलमा आलमसमक्ष सय विकेट लिने अवसर जुरेको छ । यसपटक उनले २४ विकेट लिएका छन् । 

प्रतियोगिताअन्तर्गत मंगलबार पुलिसले कर्णालीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । ललितले ४१ रन खर्चेर ६ विकेट लिँदै सय विकेटको कोसेढुंगा पूरा गरेका हुन् । यसपटक उनले आफूलाई उत्कृष्ट फर्ममा राखी सर्वाधिक विकेट लिने बलरको सूचीको शीर्ष स्थानमा आफूलाई उभ्याएका छन् । 

ललितले दुई खेलमा समान पाँच विकेट तथा तीनपटक ६ विकेटको प्रदर्शन गरेका छन् । ललितले कर्णाली र सुदूरपश्चिमविरुद्ध समान पाँच विकेट लिएका थिए । उनले मधेश, गण्डकी तथा एपिएफविरुद्धको महत्ववपूर्ण खेलमा ६ विकेट लिन सफल भए । ललितले लुम्बिनी र कोशीविरुद्ध समान दुई विकेट हात पारेका थिए । बागमती प्रदेशविरुद्ध उनले ३४ रन खर्चेर चार विकेट लिए । 

आठौँ जितसँगै पुलिस फाइनलमा
प्रतियोगितामा लगातार आठौँ जित निकाली पुलिसले फाइनल स्थान पक्का गरेको छ । १६ अंक जोडेको पुलिसले शीर्ष स्थान बलियो बनाएको छ । दोस्रो स्थानमा आर्मी र तेस्रो स्थानमा एपिएफ रहेका छन् । यी दुई मध्ये एक टोलीले अन्तिम दुई स्थान बनाउनेछन् । आर्मीले आठ खेलबाट १४ अंक तथा एपिएफले समान खेलबाट १२ अंक जोडेको छ । पिएम कपमा अपराजित रही अन्तिम दुई स्थान बनाउने क्रममा पुलिसले मंगलबार लहमीमा कर्णालीलाई ४४ रनले हरायो । 

पहिलो ब्याटिङ गरेको पुलिस ४८ ओभरमा १४७ रनमा समेटियो । प्रत्युत्तरमा ललितको घातक बलिङ सामना गर्न नसक्दा कर्णालीले मध्यम योगफल पनि पछ्याउन सकेन । कर्णाली २४ ओभरमा १०३ रनमा समेटियो । कर्णालीको फितलो ब्याटिङमा ओपनर रवीन्द्र साहीले ३२ बलमा ४९ रन तथा अर्जुन घर्तीले ४२ बलमा ३० रन बटुले । सो इनिङ्समा तीन खेलाडी शून्य रनमा आउट भए । ६ खेलाडीले दोहोरो रन नै बनाएनन् । 

यसअघि पुलिसको ब्याटिङमा अर्जुन साउदले सर्वाधिक ३६ रन जोडेका थिए । उनले ६० बलमा चार चौका र एक छक्का प्रहार गरे । यसैगरी, दिलीप नाथले ५९ बलमा ३४ रन बनाए । पुलिस इनिङ्सको एक समय १०९–९ को कमजोर अवस्थामा थियो । तर, पुछारका सागर ढकाल र श्रवण यादवले दसौँ विकेटका लागि महत्ववपूर्ण ३८ रन जोडे । श्रवणले ३९ बलमा ११ रन तथा सागरले २८ बलमा २२ रन बटुलेका थिए । 

विशालले लिए ६ विकेट 
प्रतियोगिताअन्तर्गत भैरहवामा मधेश प्रदेशले सुदूरपश्चिमलाई ४४ रनले हराएको छ । यस खेलमा मधेशका विशाल पटेलले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले ६ ओभरमा १८ रन खर्चेर ६ विकेट लिए । उनले दुई मेडन ओभर फ्याँके । पहिलो ब्याटिङ गरेको मधेशले ४२.३ ओभरमा १०२ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा सुदूरपश्चिम २९ ओभरमा ५८ रनमै समेटियो । सुदूरपश्चिमको ब्याटिङमा हेमन्त धामीले सर्वाधिक १९ रन बनाए । 

यसबाहेक ६ खेलाडी डकआउट भए । प्रकाश पाण्डे, निश्चल क्षेत्री तथा मिलन बोहरा गोल्डेन डकआउट भएका थिए । उनीहरूले सामना गरेको पहिलो बलमै आउट भए । विशालले इनिङ्सको १.१ ओभरमा प्रकाश, १.२ ओभरमा निश्चल तथा १.४ ओभरमा किरण ठगुन्नालाई क्रिजबाट हटाए । पावर प्लेमै विशालले घातक बलिङ गरेपछि सुदूरपश्चिम ५.३ ओभरमा ६–६ का नाजुक स्थितिमा पुगेको थियो । यसअघि सुदूरपचिमले पनि मधेशविरुद्ध कसिलो बलिङ गरेको थियो । हेमन्त र शेर मल्लले समान चार विकेट लिँदा मधेश १०२ रनमा अलआउट भएको थियो । मेधशको ब्याटिङमा प्रदीप पासवानले सर्वाधिक २३ रन जोडेका थिए । 
 

सुझावित समाचार