एएफसी एसियन कप २०२७ छनोट, मलेसियासँग हार्‍यो नेपाल

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

एएफसी एसियन कप २०२७ को छनोट चरणअन्तर्गत समूह ‘एफ’को पहिलो खेलमा नेपाल मंगलबार मलेसियासँग २–० ले पराजित भएको छ । मलेसियाको जोहोर बारुस्थित सुल्तान इब्राहिम रंगशालामा नेपालविरुद्ध घरेलु टोलीका हेक्टर हाबल र कोर्भिन ओङले समान एक गोल गरेका थिए । मलेसियाले पहिलो तथा दोस्रो हाफमा गोल गरेको थियो । खेलको मलेसियाले २९औँ मिनेटमा १–० को अग्रता लियो । घरेलु खेलाडी हेक्टरले नेपालको कमजोर डिफेन्समा गोल गरेका हुन् । उनले डिबक्सभित्रबाट प्रहार गरेको बल नेपाली डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलको ७०औँ मिनेटमा मलेसिया २–० ले अगाडि रह्यो । यसपटक कोर्भिनले वान टचमै गोल गरे । नेपालका प्रशिक्षक म्याट रोसले दोस्रो हाफमा तीन खेलाडी परिवर्तन गरेका थिए । खेलको ८५औँ मिनेटमा स्ट्राइकर रेजिन सुब्बाले राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले जिलेस्पीजंग कार्कीलाई विस्थापित गरेका हुन् । समूह ‘एफ’मा नेपालले अब भियतनाम र लाओससँग खेल्न बाँकी छ । छनोटको अर्को खेलमा भियतनामले लाओसलाई ५–० ले हराउँदै सानदार सुरुवात गरिसकेको छ ।

मलेसियाविरुद्धको खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । एसियाली फुटबल महासंघले रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिँदा खेल मलेसियामा भएको हो । 

अझै नेपाल गोलविहीन
मलेसियाविरुद्ध नेपाल आठौँ अन्तर्राष्ट्रिय खेल पनि जितविहीन भयो । नेपालले अहिलेसम्म मलेसियाको पोस्टमा गोल गर्न सकेको छैन । मलेसियाले आठ खेलमा गरी नेपालविरुद्ध २५ गोल गरेको छ । सन् १९८५ मा नेपालले विश्वकप छनोटमा मलेसियालाई गोलरहित बराबरीमा रोकेको थियो । मलेसिया र नेपालबिच पहिलोपटक सन् १९८३ मा मर्डेका कपमा खेल भएको थियो । सो खेलमा मलेसिया ७–० ले विजयी भयो । 

फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ । मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औँ स्थानमा छ । अब नेपालले १० जुनमा लाओससँग अवे खेल खेल्नेछ । त्यसपछि ९ अक्टोबरमा भियतनामसँग अवे खेल हुनेछ । हरेक समूहबाट शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।

सुझावित समाचार