भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्यांकी स्थल भन्सार कार्यालय रानीगन्जले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंले बताए । ती ट्रकहरू दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए ।
भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिए । बिआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरूको निर्यात अवरुद्ध भएको छ । काँकडभिट्टा मात्र नभई नेपालका अरू नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पुर्याइरहेको छ ।
‘नेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रकहरू पानीट्यांकीस्थित भारतीय भन्सारमा रोकिएका छन्,’ अध्यक्ष प्रसाईंले भने, ‘न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था छ ।’ भारतीय भन्सारले तत्काल नेपाल नफर्काए सामान जफत गरिदिने चेतावनी दिइरहेको प्रसाईंले बताए । नेपाली पक्षले ती सामान निर्यातका लागि भारत सरकारलाई जिएसटी करसमेत तिरिसकेको जनाएका छन् ।
नेपालमा ८० वटा प्लाई उद्योग स्थापना भएका छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम रु. २५ करोड लगानी हुने उद्योगीहरू बताउँछन् । नाकामा भारतीय पक्षबाट भइरहेको अवरोध नहटे प्लाइउड उद्योगमा भएको अर्बौँ लगानी जोखिममा पर्ने र हजारौँले रोजगारी गुमाउने जनाइएको छ । आर्थिक वर्ष ०८०/८१ मा नेपालबाट रु. सात अर्ब ४३ करोड मूल्यबराबरको प्लाइउड भारत निर्यात भएको थियो । आव ०७९/८० मा रु. चार अर्ब ७० करोड र आव ०७८/७९ मा रु. ३५ करोड मूल्यबराबरको प्लाइउड भारत निर्यात भएको थियो ।
मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ऋषि तिम्सिनाले भारतले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सिमेन्ट र प्लाइउडमा भन्सार अवरोध हुँदा मुलुकलाई ठुलो आर्थिक क्षति पुगिरहेको बताए । प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुयाउने निर्यात वस्तु भएकाले यसको निर्वाध निर्यातको वातावरण बनाउन सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनुपर्ने तिम्सिनाको सुझाव छ ।
भारतीय भन्सार अवरोध नहटेपछि प्लाइउड उद्योगले कामदारहरूको काम गर्ने अवधि कटौती गर्न थालेका छन् । तिम्सिनाका अनुसार विगतमा २४ घण्टा चल्ने प्लाइउड कारखानाहरू हाल मुस्किलले आठ घण्टा सञ्चालन भइरहेका छन् । प्लाइउडको निर्यात अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघलाई समाधानका लागि पहल गरिदिन पत्राचार गरेको छ । महासंघले नेपाल सरकार, परराष्ट्रमन्त्री र भारतीय राजदूतावाससँग कुराकानी गरिरहेको संघका अध्यक्ष प्रसाईंले बताए ।