प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

राजेश राईलाई अध्यक्षमा चुनाव लड्न निषेध गरिएपछि प्रतिनिधिको रुवावासी

एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । प्रतिस्पर्धी राजेश राईले उम्मेदवारी नदिने निर्णयपछि पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । उनी दुईपटक चौतारीको उपाध्यक्ष भएका थिए ।

चौतारीको उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी, महासचिवमा हीरामान चयन भएका छन् । लामा महासचिवमा दोहोरिएका हु्न् । उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिवमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी चयन भएका छन् । कोशी प्रदेश इन्चार्जमा नुतन श्रेष्ठ, मधेशमा अच्युत पौडेल, बागमतीमा प्रतिमा सिलवाल, गण्डकीमा गणेश पौडेल, लुम्बिनीमा टीकाबहादुर बस्नेत, कर्णालीमा याम शर्मा र सुदूरपश्चिममा दिलबहादुर छन्त्याल चयन भएका छन् । उपत्यका प्रदेशमा हेमराज सिलवाल, प्रतिष्ठानमा यसिमा महत र एसोसिएटमा रघुनाथ सापकोटा चयन भएका छन् । यद्यपि महतले प्रदेश इन्चार्ज अस्वीकार गरेको बताएकी छिन् । बाँकी ८० जना केन्द्रीय सदस्यमा चयन भएका छन् । 

निर्वाचन निषेध
प्रेस चौतारीको दसौँ अधिवेशनमा उपाध्यक्षद्वय पाण्डे र राई अध्यक्षका दाबेदार थिए । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा केपी ओलीको हस्तक्षेपपछि निर्वाचन नै निषेध गरिएको थियो । बालुवाटारको हस्तक्षेपपछि उम्मेदवारको सूचीसमेत निकाल्न निषेध गरिएको थियो । निर्वाचनमण्डलले उम्मेदवारको सूची ४:२० बजेलाई तोेकेको थियो । तर, त्यस अवधिमा सूची प्रकाशन नगरी मतपरिणाम घोषणा गर्ने कार्यतालिका बनाइएको थियो ।

उम्मेदवारी दर्तासमेत रोक लगाइएपछि अध्यक्षका आकांक्षी राजेश राईले अध्यक्षमण्डललाई सम्बोधन गर्दै अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका थिए । उम्मदेवारी नदिने घोषणा गर्नुअघि राईलाई हलमा सम्बोधन गर्न दिइएको थियो । सम्बोधनका क्रममा उनले आफूमाथि पटकपटक गरिने प्रश्न अब अन्तिम हुनुपर्ने बताएका थिए । ‘प्रतिस्पर्धामा जान खोज्दा प्रहार गरियो । एमाले र प्रेस चौतारीले माथि होइन, अधारभूमि हेर्नुपर्थ्यो । राजेश राईहरूमाथिको प्रश्न अन्तिम होस् । हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फकिर्ने दिन आउनेछ । माथि धाउँदा होइन, जनताको बिचमा जाँदा पार्टी र संगठन बलियो हुन्छ,’ उनले भने ।

सम्बोधनपछि हलबाट राई बाहिरिँदा समर्थकबिच रुवावासी चलेको थियो । अधिवेशनस्थलबाट बाहिरिँदै गर्दा राईले सम्भावना नसकिएको भन्दै समर्थकलाई आश्वस्त तुल्याउने कोसिस गरेका थिए । यसअघि पाण्डेलाई एमालेले प्रचार विभागको सचिवमा चयन गरेको थियो । उनले शपथसमेत लिएका थिए । तर, १० दिन नबित्दै उनलाई पदबाट राजीनामा दिन लगाइएको थियो । त्यसपछि भने उनी अध्यक्षको दौडमा लागेका थिए ।

सुझावित समाचार