ललितपुरमा एक वर्षमा ९५५ जनामा क्षयरोग, १७ जनाको मृत्यु

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

ललितपुरमा पछिल्लो एक वर्षमा ९५५ जनामा क्षयरोग देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारीअनुसार क्षयरोगका कारण जिल्लामा एक वर्षमा १७ जनाको मृत्यु भएको छ।

जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलका अनुसार अन्य जिल्लाको तुलनामा क्षयरोग निवारणमा ललितपुरको प्रभावकारी भूमिका निभाए पनि क्षयरोगको अवस्था हेर्दा सन्तोषजनक भने मान्न सकिँदैन। यो रोग नपत्याउँदो तवरले फैलँदो छ। ‘नेपालमा क्षयरोग भयावह हुने अवस्थामै देखिन्छ, त्यसकारण सबै तह र तप्काबाट यसबारेमा बढीभन्दा बढी सावधानी र नियन्त्रणको प्रयास हुनुपर्छ,’ विश्व क्षयरोग दिवसको अवसरमा आयोजित सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रममा उनले भने, ‘कतिपय क्षयरोग लागेका व्यक्तिहरूले सम्पर्कमा नआउँदा त्यसले झन् संक्रमण दर फैलने डर छ, त्यसकारण यसबारेमा चनचेतना पनि पर्वाह गर्न जरुरी छ।’

जिल्लामा सबैभन्दा बढी क्षयरोग ललितपुर महानगरपालिकामा देखिएको छ। यहाँ जनसंख्याको अनुपात पनि धेरै भएकोले क्षयरोग लाग्नेहरूको संख्या पनि बढी देखिएको हो। हाल जनस्वास्थ्य कार्यालय ललितपुरले यसको नियन्त्रणको लागि प्रदेश र केन्द्र सरकारको नीतिअनुसार काम गर्दैअघि बढिरहेको छ। हाल क्षयरोग नियन्त्रणमा तीनै तहका सरकारले गरेको प्रयास कमजोर भएको भन्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा पनि चिकित्सकहरूले बताउँदै आइरहेका छन्।

नेपालमा हरेक वर्ष १६ हजार मानिसले क्षयरोगकै कारण मृत्युवरण गरिरहेका छन् भने देशभर हरेक वर्ष ६८ हजार पाँच सय नयाँ बिरामी फेला पर्छन्। अझ पछिल्ला वर्षहरूमा यसको संक्रमण बढ्दो क्रममा छ, तर बजेट र राज्यको स्रोतसाधन भने खुम्चँदो क्रममा रहेकोले क्षयरोग नियन्त्रणमा चुनौती थपिँदै गएको छ।

सुझावित समाचार