नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दुईजना दोषी ठहर भएका छन्। विशेष अदालतले सोमबार यस्ता दुई मुद्दामा ठहर हुने फैसला गरेकोमा एउटा मुद्दा एक साता मात्र पुरानो छ।
पवनकुमार बुढाथोकी प्रतिवादी रहेको नक्कली प्रमाणपत्र मुद्दा दायर भएको एक सातामै ठहरको फैसला भएको छ। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा फैसला गरेको हो।
०५३ कात्तिकदेखि निमावि तहमा शिक्षकका रूपमा कार्यरत बुढाथोकीले नियुक्तिकै समय त्रिभुवन विश्वविद्यालयबाट जारी प्रवीणता प्रमाणपत्र तहको नक्कली लब्धांक पत्र पेस गरेका थिए। तत्कालीन समयमा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई सजाय तोकिएको छ।
विशेषका अनुसार ५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ। बुढाथोकीले २ सय रुपैयाँ प्रतिपूर्ति शुल्कबापतसमेत बुझाउनुपर्ने फैसलामा उल्लेख छ। गत १३ माघमा परीक्षा नियन्त्रण कार्यालय बल्खुले रेकर्डमा उनको नाम नमिलेको भनी जानकारी गराएकाले यस मुद्दामा ठहरको फैसला भएको हो।
सर्लाहीको बरहथवास्थित श्री चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयका शिक्षक रहेका उनको नक्कली प्रमाणपत्र रहेको अनुसन्धानबाट देखिएपछि गत ३ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
यसैगरी, गत ११ माघमा दायर यसै प्रकृतिको मुद्दामा पनि ठहरको फैसला भएको छ। चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कमला अधिकारीलाई दोषी ठहर गरिएको छ।
अधिकारीले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएको हो। उनले त्रिभुवन विश्वविद्यालयबाट जारी भएको देखिने प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेकी थिइन्। तर, उक्त कागजात नक्कली प्रमाणित भएपछि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको हो। साथै, उनले ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने भएको छ।