लोडसेडिङको समयमा प्रिमियम सेवा लिएर महसुल नबुझाएका उद्योगीहरूले उद्योगमा लोडसेडिङ नगर्न आग्रह गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी औद्योगिक प्रतिष्ठानहरूमा लोडसेडिङ नगर्न आग्रह गरेका हुन् । डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर प्राधिकरणको करिब आठ अर्ब बक्यौता नतिर्नेमा पनि अधिकांश सिमेन्ट, स्टिल र स्पिनिङ मिलहरू रहेका छन् । पत्रकार सम्मेलनमा उद्योगीहरूले १४ घण्टासम्म औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भइरहेको बताए । अघोषित लोडसेडिङलाई नै बहाना बनाएर सिमेन्ट र डन्डीमा उद्योगीहरूले अत्यधिक मूल्यवृद्धि गरिरहेका छन् ।
३ चैतमा झन्डै १४ घण्टा लोडसेडिङ भएको तालिका पेस गर्दै स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले १०–१२ घण्टा आउने बत्ती पनि गुणस्तरीय नभएको बताउँदै लोडसेडिङकै कारण डन्डीको उत्पादन लागत १० रुपैयाँ बढेको बताएका थिए । ‘लोडसेडिङ, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि, डलरको भाउमा भएको वृद्धिलगायतले उत्पादन लागत बढेपछि भाउ बढाउन बाध्य भएका हौँ,’ उनले भने, ‘अहिले डन्डीमा प्रतिकिलो १७.३३ रुपैयाँ लागत बढिसकेको छ, डन्डीको कस्टिङ नै प्रतिकिलो ९८ रुपैयाँ पर्न आएको छ ।’ यसअघि नै सिमेन्ट उद्योगीहरूले पनि सिमेन्टको मूल्य प्रतिबोरा आठ सय ५० रुपैयाँसम्म पुर्याएका थिए ।
कार्यक्रममा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गरिएको छैन भनेर झुट बोल्दै आइरहेको बताए । ‘औद्योगिक उत्पादनमा दिन–प्रतिदिन ह्रास आइरहेको छ, अघोषित लोडसेडिङ र ट्रिपिङको मारले उद्योग धराशायी बन्दै छन्,’ उनले भने, ‘प्राधिकरणका प्रमुखले महँगोमा बिजुली किनेर उद्योगलाई सस्तोमा बिक्री गर्न सक्दैनौँ भनेर गैरजिम्मेवार जवाफ दिनुहुन्छ ।’
कुल उत्पादनको ३८ प्रतिशत बिजुली खपत गर्ने उद्योगहरूलाई किन सौतेलो व्यवहार गरिँदै आएको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए । उनले भने, ‘हामीलाई विद्युत् खपत गरेको प्रमाण देऊ, प्रमाणका आधारमा पैसा तिर्छौँ भनिरहेकै छौँ, हामी डेडिकेटेड र ट्रंकलाइनको विवाद लम्ब्याउन चाहँदैनौँ ।’
रिलायन्स स्पिनिङ मिलका सञ्चालक शशिकान्त अग्रवालले लोडसेडिङ हुन नदिने प्राधिकरणको दायित्व भएको बताए । उनले भने, ‘एकातिर अघोषित लोडसेडिङ भइरहेको छ, अर्कोतिर ट्रिपिङको उस्तै समस्या छ, प्राधिकरणले उद्योगलाई आवश्यक मात्रामा गुणस्तरीय बिजुली उपलब्ध गराउनुपर्छ ।’ उनले कुनै उद्योगलाई बिजुली दिने र कुनैलाई नदिने घातक व्यवहार नगर्न पनि प्राधिकरण नेतृत्वलाई अनुरोध गरे ।
नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले एक सेकेन्ड बत्ती जाँदा ४५ मिनेट उत्पादन ठप्प हुने गुनासो गरे । ‘अघोषित लोडसेडिङ छ, विद्युत् पनि गुणस्तरीय पाउँदैनौँ, ट्रिपिङले आजित छौँ,’ उनले भने, हामीलाई बत्ती चाहियो, सबै ग्राहकलाई बराबर प्राथमिकता हुनुपर्छ, उद्योग–व्यवसाय नचले अर्थतन्त्र कसरी रहला ?’ उद्योगलाई चौबिसै घण्टा बिजुली चाहिने र सबै ग्राहकलाई बराबर प्राथमिकतामा राखिनुपर्ने उद्योगीहरूको माग छ ।