मेधावी छात्र शोभित हाई स्कुलदेखि स्नातक तहसम्मै प्रथम भए । तर, यस सफलताका बाबजुद उनका मातापिता उनीदेखि खुसी थिएनन् किनकि उनी निकै घमन्डी थिए र मानिससित बडो रुखो शैलीमा बोल्थे । ठुलो आवाजमा बोल्नु र अकारण नै कसैलाई हाँसोमा उडाउनु उनको बानी थियो । स्नातक तह उत्तीर्ण भएपछि शोभित जागिरको खोजीमा लागे । हरेकपटकको लिखित परीक्षा उनले सहजै उत्तीर्ण गरे पनि अन्तर्वार्तामा पुगेपछि उनी छनोट हुन सकेनन् । उनलाई लाग्थ्यो, आफ्नो राम्रो अंकका कारण जागिर सजिलै पाइन्छ, तर त्यस्तो भएन । बारम्बारको प्रयासपछि पनि आफ्नो घमन्डकै कारण उनी सफल भएनन् । तैपनि, उनलाई आफ्नो बानी सुधार्ने चेत पलाएन ।
एक दिन बाटामा उनले आफ्नो स्कुलका पुराना शिक्षकलाई भेटे । शोभित उनका कुरा मान्थे । शिक्षकले पनि उनलाई माया गर्थे । कुराकानीको सिलसिलामा शोभितले आफ्नो समस्या बताए । शिक्षक शोभितको बानीबाट परिचित थिए । त्यसैले, उनले शोभितलाई आफ्नो घर बोलाए । अर्को दिन शोभित शिक्षकको घर पुगे । शिक्षक खाना बनाउँदै थिए ।
कुराकानी चल्दै गर्दा शिक्षकले भने— शोभित, किचनमा गएर भात पाक्यो कि पाकेन, हेरेर आऊ त ! शोभित भित्र गए र भित्रैबाट भने— सर भात पाकेछ, म ग्यास बन्द गरिदिन्छु । शिक्षकले सहमति जनाए । शोभित बाहिर आइसकेपछि शिक्षकले प्रश्न गरे— तिमीले भात पाकिसकेछ भनेर कसरी थाहा पायौ ? शोभितले भने— मैले चामलको एक दाना हातमा लिएर हेरेँ, त्यो पाकिसकेको थियो । त्यसको मतलब बाँकी पनि पाकिसकेको थियो ।
शिक्षकले गम्भीर हुँदै भने— यो नै तिमी असफल हुनुको मुख्य कारण हो । चामलको एक दाना हेरेर तिमीले बाँकी चामल पाकेको अनुमान गरे पनि बाँकी चामल नपाकेको पनि हुन सक्छ । खाने वेलामा मात्र त्यो थाहा हुन्छ । ठिक यसैगरी मानिस पनि अनेकौँ गुणले बनेको हुन्छ । पढाइलेखाइमा राम्रो हुनु तीमध्ये एउटा गुण हो । यसका अतिरिक्त पनि राम्रो व्यवहार, ठुलालाई सम्मान गर्नु, सानालाई माया गर्नु, सकारात्मक दृष्टिकोण राख्नु आदि पनि मानिसकै गुण हुन् । तिमीमा पनि त्यही एउटा गुण त थियो, तर बाँकी गुण नहुँदा तिमी अन्तर्वार्तामा असफल भयौ । शिक्षकका कुराले शोभितका आँखा खुले ।