वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा अभियन्ता, कवि, पत्रकार एवं संरक्षणकर्मी आरके अदीप्त गिरीलाई पर्वत सदरमुकाम कुस्मा बजारस्थित ‘शताब्दी घर’ पुगेर सम्मान गरेको छ।
‘कालीगण्डकी बचाऔँ’ अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनुका साथै ‘शताब्दी घर’ सांस्कृतिक संग्रहालयमार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गिरीलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको हो। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्माले सम्मानपत्र, अभियानका संयोजक रामबहादुर पौडेलले माला र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर गिरीलाई सम्मान गरेका हुन्।
गिरीलाई सम्मान गर्दै मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दु:खद रहेको बताए। उनले जल र जीवनको सम्बन्ध अनोन्याश्रित हुने भन्दै मान्छेको अधिकारजस्तै कुनै पनि प्राकृतिक सम्पदा जीवित रहन र निर्वाध आफ्नो बाटोमा हिँड्न पाउने अधिकार रहेको जनाए। कालीगण्डकी हिन्दु धर्मालम्बीहरूको मात्र धार्मिक आस्थाको रूपमा नभई २४ तान्त्रिक स्थानमध्ये एक मान्ने गरिएको प्रसंग उल्लेख गरे।
सो अवसरमा अभियन्ता गिरीले शालिग्राम पाउने एक मात्र र पाषाणकालीन सभ्यतासँग जोडिएको कालीगण्डकी दोहन हुँदा पनि कसैले रोक्न र आवाज उठाउन नसकेकोमा दु:ख व्यक्त गरे। ‘एकाध व्यक्तिको लाभ, स्वार्थ र दादागिरीमा नदी कब्जा गरिएको छ,’ उनले भने, ‘सांसद, जनप्रतिनिधि, नेता, पत्रकार, प्रशासनलगायत यसमा बोल्दैनन्।’ नेपाल जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र वायु प्रदुषणको उच्च मारमा पर्दै गएको भन्दै उनले कालीगण्डकी नरहे कोही पनि नरहने जिकिर गरे।