माओवादी फक्ताङ्लुङको अध्यक्षमा राजन लिम्बू निर्वाचित

आइतबार, १० चैत, २०८१
डिजिटल संस्करण

गाउँपालिका अध्यक्षसमेत रहेका राजन लिम्बू (मुक्ति) फक्ताङ्लुङ गाउँपालिका माओवादीको पालिका कमिटी अध्यक्षमा निर्वाचित भएका छन्। गाउँपालिकाको शनिबार सम्पन्न तेस्रो अधिवेशनले लिम्बूलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। 

लिम्बू माओवादीको पालिका कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका हुन्। कमिटीको उपाध्यक्षमा तारादेवी लिम्बू, दिलकुमार पतङ्वा र धनबहादुर राई, सचिव सुधीर सावादेन, सहसचिव शम्शेर फेम्बो र कोषाध्यक्षमा रनबहादुर माबोहाङ चयन भएको निर्वाचन समितिका संयोजक विद्या खड्काले जानकारी दिए। 

पालिका अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीसहित ४१ सदस्यीय कमिटी सदस्यहरू निर्वाचित भएको संयोजक खड्काले जानकारी दिए। निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई संयोजक खड्काले प्रमाणपत्र वितरण गरेका थिए। 

 शनिबार भएको पालिका अधिवेशनको उद्घाटन माओवादीका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले गरेका थिए। त्यस्तै, अधिवेशन उद्घाटनमा माओवादी कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्वाङ (मिक्सो), केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेम, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडन्डु शेर्पा, जिल्ला संयोजक विष्णुकुमार लिम्बूलगायतको उपस्थिति थियो। 
 

सुझावित समाचार