- सहभागी टिमलाई पूरा ५० ओभर क्रिजमा टिक्न निकै गाह्रो परेको छ । ३५ खेल सम्पन्न भइसक्दा जम्मा दुई शतक बनेका छन् । सुदूरपश्चिमका किरण ठगुन्ना र आर्मीका तृतराज दासले मात्रै शतक बनाए । अघिल्लो संस्करण पुलिसले उपाधि जित्दा १० शतक बनेका थिए ।
नेपाल क्रिकेट संघ (क्यान)ले मोसफलका तीन मैदानमा प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । रुपन्देहीको एक्स्ट्राटेक मैदान, भैरहवाको सिद्धार्थ रंगशाला र दाङको लमही क्रिकेट मैदानमा प्रतियोगिता भएको हो । क्यानले क्रिकेटलाई देशभरी पुर्याउने योजनासहित प्रतियोगिता आयोजना गर्दा सहभागी टिमको लागि नयाँ पिचमा नयाँ अनुभव रह्यो । यद्यपि, सहभागि टिमलाई पूरा ५० ओभर क्रिजमा टिक्न निकै गाह्रो परेको छ । ३५ खेल सम्पन्न भइसक्दा जम्मा दुई सतक बनेका छन् ।
सुदूरपश्चिमका किरण ठगुन्ना र आर्मीका तृतराज दासले मात्रै सतक बनाए । अघिल्लो संस्करण पुलिसले उपाधि जित्दा १० सतक बनेका थिए । प्रतियोगितामा ४५ खेल हुँदा यसअघि बागमतीका सूर्य कुमारले सर्वाधिक ३० विकेट लिएका थिए । यसपटक ललित राजवंशीले १० खेल बाँकी हुँदै ३० विकेट लिइसकेका छन् । यसैबाट प्रस्ट हुन्छ, यसपटक ब्याटरलाई भन्दा पनि पिच स्पिनरका लागि राम्रो छ । विभागीय टोलीहरू नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब नै फाइनलतर्फ अग्रसर बनेका छन् । क्यानले यसपटक पनि तीन विभागीय र सात प्रदेशलाई प्रतियोगितामा सहभागी गराएको थियो । यसपटक पनि तालिकाको शीर्ष चारमा रहने टोलीले द्विदिसीय इलिट कप खेल्नेछन् ।
दीपेन्द्रसिंह ऐरी (नेपाल पुलिस)
राष्ट्रिय टिमका सदस्य दीपेन्द्रसिंह ऐरी पिएम कपमा पनि अलरान्ड प्रदर्शन गरिरहेका छन् । यो प्रतियोगितामा राष्ट्रिय टिमका सदस्यमा ललितपछि लयमा देखिएका अर्का खेलाडी हुन् दीपेन्द्र । दीपेन्द्रले सात खेलमा २५६ रन बनाएका छन् । तीन अर्धशतक बनाएका दीपेन्द्र सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । तर, दर्शकको आशाअनुसार उनले शतक भने बनाउन सकेका छैनन् । विकेट भने मात्र चार लिए । दीपेन्द्रले मधेशविरुद्ध ६३, गण्डकीविरुद्ध ५४ र बागमतीविरुद्ध ६० रन बनाएका थिए । एपिएफविरुद्ध भने मात्र एक रन बनाएका हुन् । त्यस्तै लुम्बिनीविरुद्ध २ तथा कोशी र मधेशविरुद्ध समान एक विकेट लिएका थिए । उनी उत्कृष्ट प्रदर्शन गर्दै पुलिसलाई लगातार फाइनलमा पुर्याउने योजनामा छन् । गतवर्ष दीपेन्द्रले १५ विकेट लिँदा १६५ रन जोडेका थिए ।
साहब आलम (त्रिभुवन आर्मी)
आर्मीका साहब आलम पिएम कपमा २० विकेट लिँदै सर्वाधिक विकेटकर्ताको तेस्रो स्थानमा छन् । साहब र कर्णालीका दीपेन्द्र रावतले समान २० विकेट लिएका छन् । समान सात इनिङ्समा ३० विकेट लिँदै ललित राजवंशी शीर्ष स्थानमा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका बायाँ हाते बलरले ६७ ओभरमा मात्र २३८ रन खर्चिएका छन् । उनले लमहीमा गण्डकीविरुद्ध सर्वाधिक ५ विकेट लिएका थिए । सिद्धार्थनगरमा बागमती र सुदूरपश्चिमविरुद्ध भने समान चार विकेट लिए । यस्तै, कर्णालीविरुद्ध तीन, एपिएफ र कोशीविरुद्ध समान दुई विकेट लिँदा मधेशविरुद्ध विकेटविहीन भएका हुन् । अघिल्लो सिजन साहबले १० खेलमा २३ विकेट लिएका थिए ।
दीपेन्द्र रावत (कर्णाली प्रदेश)
कर्णाली प्रदेशका दीपेन्द्र रावतले पनि पिएम कपमा आफूलाई प्रमाणित गर्ने प्रयास गरेका छन् । उनले राष्ट्रिय टिमबाट खेलिरहेका साहब आलम, रिजन ढकाल, सोमपाल कामी, कमलसिंह ऐरी, आकाश चन्दजस्ता खेलाडीलाई पछि पार्दै सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा आफूलाई उभ्याएका छन् । ७ इनिङ्स खेलेका दीपेन्द्रले साहले आलमसँगै २० विकेट लिए । त्यसक्रममा उनले ६२.२ ओभर बलिङ गरेका छन् । राष्ट्रिय टिमबाट खेल्ने सपना बोकेका दीपेन्द्रले सुदूरपश्चिमविरुद्ध मात्र ३३ रन खर्चिएर सर्वाधिक ७ विकेट हात पारेका थिए । त्यसबाहेक मधेश, लुम्बिनी, कोशीविरुद्ध तीन विकेट लिँदा एपिएफ र गण्डकीको समान २ विकेट झारेका छन् । आर्मीविरुद्ध भने विकेट बिहिन भए ।
तृतराज दास (त्रिभुवन आर्मी)
यो पिएम कपमा राष्ट्रिय टोलीका ब्याटरलाई क्रिजमा टिक्क धौधौ पर्दा तृतराज दासले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबमा आवद्ध २२ वर्षीय खेलाडी पिएम कपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले सात इनिङ्समा तीन सय ३०२ रन बनाएका छन् । प्रतियोगितामा दुई खेलाडीले मात्रै सतक बनाउँदा आफ्नो नाम लिष्टमा राख्न तृतराज सफल भएका छन् । दायाँ हाते कलैयाका ब्याटरले कोशी प्रदेशविरुद्ध अविजित ११२ रन बनाएका हुन् । आर्मीका यी ओपनरले १३९ बलमा १४ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, सिद्धार्थनगरमा खेलिएको खेलमा उनले कर्णालीविरुद्ध ६९ रन बनाएका छन् । नेपालको यु–१९ टिमबाट खेलिसकेका एपिएफविरुद्ध भने मात्र तीन रन बनाउन पुगेका थिए । यो प्रदर्शनसँगै उनको राष्ट्रिय टिमको ढोका खोलिने अनुमान गरिएको छ ।
ललित राजवंशी (नेपाल पुलिस)
प्रतियोगितामा नयाँ पिच बलरका लागि निकै लाभदायी रह्यो । बलर अधिकांश खेलमा हाबी भए । त्यसको फाइदा ललित राजवंशीलाई सबैभन्दा बढी भयो । ललितले सात इनिङ्समा सर्वाधिक ३० विकेट लिइसकेका छन् । उनले दोस्रो स्थान र तेस्रो स्थानमा रहेर समान २० विकेट लिएका दीपेन्द्र रावत र साहब आलमलाई निकै पछि छाडेका छन् । ललितले यो पिएम कपमा ५६.१ ओभर बल फ्याँल्दा १३५ रन मात्रै दिएका छन् । एपिएफ र सुदूरपश्चिमविरुद्ध एकै खेलमा समान ६ विकेट लिँदा गण्डकी, मधेशविरुद्ध ५, बागमतीविरुद्ध ४ तथा कोशी र लुम्बिनी प्रदेशविरुद्ध समान दुई विकेट हात पारेका हुन् । सिद्धार्थनगरको एक्स्ट्राटेक मैदानमा मात्रै दुई खेल खेल्दा एक्लै ११ विकेट लिएका छन् । अघिल्लो सिजन उनले १० खेलमा २३ विकेट लिएका थिए ।
अर्जुन घर्ती (कर्णाली प्रदेश)
कर्णालीका अर्जुन घर्तीले पिएम कपमा उत्कृष्ट प्रदर्शन गरिरकेका छन् । प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीलाई रन बनाउन हम्मेहम्मे पर्दा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले २६८ रन बनाएका छन् । पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सको लागि खेलेका अर्जुनले सात इनिङ्समा तीन अर्धसतक बनाइसकेका छन् । विकेटकिपर तथा ब्याटरले कोशीविरुद्ध अविजित सर्वाधिक ८८, सुदूरपश्चिमविरुद्ध ७१ तथा लुम्बिनीविरुद्ध ५६ रन बनाएका थिए । आर्मीविरुद्ध भने उनी डक भएका थिए । विभागीय टोली एपिएफविरुद्ध १० रन बनाउँदा उनको परिक्षा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग हुनेछ । पिएम कपमा लुम्बिनीका प्रज्वल बहादुर थापा (२६६) र पुलिसका दीपेन्द्र सिंह ऐरी (२५८) ले अर्जुनलाई पछ्यारहेका छन् ।