रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा आरसिबीले कोलकाता नाइट राइडर्सलाई २२ बलअघि ७ विकेटले हरायो ।
जितपछि आरसिबीले दुई अंक जोडेको छ । कप्तान रजत पटिदार भाग्यमानी पनि रहे । आफ्नो कप्तानीमा टोलीलाई पहिलो खेल नै जिताउन सफल भएका छन् ।
कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा आरसिबीले १६.२ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
आरसिबीको जितमा ओपनरद्वय विराट कोहली र फिल साल्टले ९५ रनको साझेदारी गरेका थिए । दुवै खेलाडीले अर्धशतक बनाएका हुन् । कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए । उनले ३६ बलमा चार चौका र तीन छक्का हिर्काएका हुन् । साल्टले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रन बनाएका हुन् । कप्तान रजत पटिदारले १६ बलमा ३४ रनको योगदान गरे । देवदत्त पादिकालले १० रन जोडेका थिए । कमजोर बलिङ गरेको कोलकाताका लागि वैभव आरोरा, बरुन चक्रवर्ती र सुनील नारिनेले समान एक विकेट लिएका थिए ।
कप्तान रहाणेको आक्रामक अर्धशतक
उद्घाटन खेलको पहिलो इनिङ्समा रहाणेले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए । यो आइपिएलको पहिलो अर्धशतक बनाउने खेलाडी बन्दा रहाणेले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । सुनील नारिनेले २६ बलमा ५ चौका र ३ छक्कासहित ४४ रन हिर्काएका हुन् ।
पाँच बलमा चार रन बनाएका क्विन्टन डी कक आउट भएपछि रहाणे र नारिनेले ५५ बलमा १०३ रनको साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरतर्फ बढाएका थिए ।
आङकृश रघुवंशीले ३० तथा रिंकु सिंहले १२ रनको योगदान गरेका हुन् । आरसिबीका लागि क्रुनल पाड्याले चार ओभरमा २९ रन खर्चिएर तीन विकेट लिएका थिए । आइतबार हुने खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।