प्रेरक प्रसंग : पिताको आँसु

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

एक पिता आफ्नी चार वर्षकी छोरी मुनालाई असाध्यै माया गर्थे । कार्यालयबाट फर्किंदा उनी मुनाका लागि अनेक प्रकारका खेलौना र मिठामिठा खानेकुरा ल्याउने गर्थे । मुना पनि आफ्नो तोतेबोलीमा बाबा–बाबा गर्दै पिताकै वरिपरि घुमिरहन्थिन् । 

एक दिन अचानक मुनालाई कडा ज्वरो आयो । उनलाई हतारहतार चिकित्सककहाँ लगियो । तर, चिकित्सककहाँ पुग्नुअगावै मुनाको मृत्यु भयो । यस घटनाले सिंगो परिवार शोकमा डुब्यो । पिताको अवस्था त मृत व्यक्तिसमान नै भयो । मुनाको मृत्युपछि उनी कसैसँग बोल्दैनथे । खान पनि मन गर्दैनथे । जतिखेर पनि छोरीलाई सम्झेर रोइरहन्थे । उनले कार्यालय जान पनि छाडिदिए । उनले घरबाट बाहिर निस्कनै बन्द गरे । आफन्त र छरछिमेकीले उनलाई सम्झाउन निकै जोडबल लगाएर ।

तर, उनी जतिखेर पनि मुना, मुना भनेर रोइ मात्र रहन्थे । एक रात मुनालाई सम्झेर आँसु बगाउँदा–बगाउँदै उनी भुसुक्क निदाए । निद्रामा उनले एउटा सपना देखे । सपनामा उनले स्वर्गमा सयौँ बालिका परी बनेर घुमिरहेका देखे । सबैले सफा सेतो पहिरन लगाएका थिए । सबैका हातमा बलेको मैनबत्ती थियो । 

उनले मुनालाई पनि त्यही भिडमा देखे । उनले छोरीलाई सम्बोधन गर्दै भने– प्यारी छोरी मुना, सबै परीको हातको मैनबत्ती बलिरहेको छ । तर, तिम्रो त निभेको छ नि ! तिमी यसलाई किन पुनः सल्काउँदिनौ ? पितातिर हेर्दै मुनाले भनिन्– बाबा, म पटक–पटक यसलाई सल्काउँदा–सल्काउँदै दिक्क भइसकेँ । म जब–जब मैनबत्ती सल्काउँछु, तब–तब तपाईं यति धेरै रुनुहुन्छ कि तपाईंको आँसुले यो मैनबत्ती निभिहाल्छ । अब तपाईं नै भन्नुहोस् त म के गरूँ बाबा ?

यो संवाद चल्दाचल्दै उनको निद्रा खुल्यो । सपनाको दृश्य सम्झिँदा उनलाई आफ्नो गल्तीको महसुस भयो । उनले आफू दुःखी हुन्जेल छोरी पनि खुसी हुन सक्दिनन् भन्ने बुझे । अनि, उनी पुनः सामान्य जीवन जिउन थाले ।

सुझावित समाचार