‘राजागंज’ दोस्रो हप्तामा, दर्शकको माया बढ्दै

शनिबार, ८ चैत, २०८१
डिजिटल संस्करण

चैत १ गतेबाट प्रदर्शनमा आएको फिल्म 'राजागंज' राम्रो माउथ पब्लिसिटीका कारण दोस्रो हप्तामा प्रवेश गरेको छ। समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि काठमाडौँका हलहरूले शो संख्या थपेका छन्।

सामाजिक, राजनीति र सांस्कृतिक यथार्थमा आधारित 'राजागंज'ले एक सशक्त कथावस्तु प्रस्तुत गर्छ। फिल्मको केन्द्रमा रहेको गाउँ ‘राजागंज’ सामाजिक विभाजन, अन्याय र राजनीतिक चलखेलको सिकार बनेको देखाइन्छ। मुख्य पात्रले यी समस्याहरू विरुद्ध लड्ने प्रयास गर्छ तर परिवर्तन ल्याउने यात्रामा ऊ विभिन्न चुनौतीहरू सामना गर्न बाध्य हुन्छ। मधेशी समाजको वास्तविकता, संघर्ष र आशालाई चित्रण गर्ने यस कथाले दर्शकलाई गहिरो रूपमा जोड्ने प्रयास गरेको छ।

फिल्मले सामाजिक तथा राजनीति  कथालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको भन्दै समीक्षकहरूले प्रशंसा गरेका छन्। दर्शकहरू फिल्मको कथा, अभिनय र निर्देशनबाट प्रभावित भएका छन्। सामाजिक सञ्जालमा पनि फिल्मको सकारात्मक चर्चा भइरहेको छ।

निर्देशक दीपक रौनियारले दर्शकको मायाप्रति आभार व्यक्त गर्दै भने, नेपाली समाजको वास्तविक कथा पर्दामा ल्याउने हाम्रो प्रयासलाई दर्शकले खुलेर स्विकार्नुभएको छ। नेपाली फिल्ममा विविध कथाहरू आउनुपर्छ र राजागंज त्यसैको एउटा कोसिस हो। हलहरूमा दर्शकको चाप बढ्दै गएपछि प्रदर्शकहरूले शो संख्या थपेका छन्।

सुझावित समाचार