कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पहिलोपटक हराएको छ । शुक्रबार भैरहवाको एक्ट्राटेक ओभलमा कर्णालीले मधेश प्रदेशलाई ८१ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २१ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा मधेशले ३५.२ ओभरमा सबै विकेट गुमाउँदा एक सय ३९ रन मात्रै बनायो । कर्णालीको यो लगातार दोस्रो जित हो । चौथो जितसँगै सात खेलमा आठ अंक जोडेको कर्णाली चौथो स्थानमा उक्लिएको छ । चौथो हारपछि मधेश ६ खेलबाट चार अंकका साथ सातौँ स्थानमा छ ।
मधेशका लागि रूपेश सिंहले ३०, विशाल पटेलले २५, हरिशंकर साहले १८ र शैलेन्द्र साहले १० रन बनाए । कर्णालीका लागि दिनेश अधिकारीले चार, दीपेन्द्र रावतले तीन, प्रकाश जैसीले दुई र सुनील धमलाले एक विकेट लिएका थिए । त्यसअघि कर्णालीका लागि दीपेन्द्र रावलले ९२ बलमा ६ चौकासहित सर्वाधिक ६१ रन बनाएका हुन् । अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २०, कप्तान दिवान पुनले अविजित १८ र रवीन्द्र शाहीले १३ रनको योगदान गरेका हुन् । सातौँ विकेटका लागि दीपेन्द्र र दिनेशले ६० रनको साझेदारी गरे । मधेशका लागि रूपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र कप्तान अनिल साहले समान दुई विकेट लिएका थिए ।
एपिएफको चौथो जित
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतियोगितामा चौथो जित निकालेको छ । सिद्धार्थनगर क्रिकेट मैदानमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा एपिएफले ३६.३ ओभरमा सात विकेट गुमाउँदै जित निकाल्यो । जितसँगै ६ खेलमा आठ अंक जोडेको एपिएफ तेस्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम सात खेलबाट चार अंकका साथ छैटौँ स्थानमा छ ।
एपिएफका लागि सन्दीप जोराले ६८ बलमा पाँच चौकासहित सर्वाधिक ५१ रनको योगदान गरेका थिए । आसिफ सेखले ३२, लोकेश बमले १९, भुवन कार्की तथा कप्तान रोहितकुमार पौडेलले १४ र सुमित महर्जनले १२ रनको योगदान गरेका थिए । तेस्रो विकेटका लागि सन्दीप र आसिफले ५० रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि शेर मल्ल, विकास आग्री र कप्तान नारायण जोशीले समान दुई विकेट लिए ।
त्यसअघि सुदूरपश्चिमका लागि निश्चल खत्रीले ९२ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ५७ रन बनाएका थिए । प्रकाश पाण्डेले ४२, किरण ठगुन्नाले १२, शेर मल्लले ११ तथा सुनील चन्द र हेमन्त धामीले समान १० रन बनाए । तेस्रो विकेटका लागि निश्चल र प्रकाशले ९२ रनको साझेदारी गरे । एपिएफका लागि रोहितकुमार पौडेल र अमरसिंह रउटेलाले समान तीन, भुवन कार्कीले दुई र अभिषेक गौतमले एक विकेट लिएका थिए ।