राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीको उपचारको क्रममा संयुक्त राज्य अमेरिकामा असामयिक निधन भएको छ। संखुवासभाका बासिन्दा अधिकारीको निधनले सिंगो पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपा नेपालले विज्ञप्तिमा जनाएको छ।
‘एक असल, भद्र तथा इमानदार व्यक्तित्वको परिचय स्थापित गर्नुभएका अधिकारिको जन्म २०१३ सालमा संखुवासभा जिल्लामा भएको थियो,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने, ‘उहाँका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ।’
अधिकारीको निधनमा दुःख प्रकट गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयहरूमा तीन दिन झन्डा झुकाउने र १३औँ दिनमा शोकसभा आयोजना गर्ने निर्णय गरेको बर्तौलाले जानकारी दिए।
स्वर्गीय अधिकारीको पार्थिव शरीरको अन्त्येष्टि संयुक्त राज्य अमेरिकामै गरिनेछ।